काठमाडौँ । पैसा नभएर एक महिलाले अस्पतालको गेटमा नै बच्चा जन्माएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
मधेश प्रदेशकै सुविधा सम्पन्न मानिने सरकारी अस्पताल राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिरै गएराति एक महिलाले बच्चा जन्माएको विषयलाई लिएर यतिखेर सरकारी अस्पतालकै सेवा-सुविधा माथि प्रश्न उठेको छ। घटना बुधबार राति करिब साढे २ बजेको हो । पैसा नभएका कारण फुटपाथमै बच्चा जन्माउन विवश महिला राजविराज नगरपालिका–१४ पर्साही बस्ने हरेराम पासवानकी श्रीमती बबिता पासवान भएको बताइएको छ।
तर प्रसव पीडापछि अस्पताल पुगेर गेटमानै बच्चा जन्माउनु पर्ने अवस्थाको बारेमा अस्पतालको ध्यानाकर्षण भएको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रञ्जितकुमार झाले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै छानबिन गर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत घटनाको वास्तविक सत्यतथ्य पत्ता लगाउन तत्काल छानविन समिति गठन गरी दोषी देखिएका कर्मचारी वा सम्बन्धित पक्षमाथि आवश्यक कानुनी तथा प्रशासनिक कारबाहीको प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
अस्पतालका मेसु डा. झाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्वास्थ्य संस्था जस्तो संवेदनशील ठाउँमा सेवाग्राहीले समयमा उपचार नपाई गेटमै बच्चा जन्माउनुपर्ने परिस्थिति सिर्जना हुनु अत्यन्तै गम्भीर र चिन्ताजनक विषय हो। घटनाको वास्तविक सत्यतथ्य छानबिन गर्नका लागि तत्काल एक छानबिन समिति गठन गरी, दोषी देखिएका कर्मचारी वा सम्बन्धित पक्षमाथि यथाशीघ्र आवश्यक कानूनी तथा प्रशासकीय कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाउन चाहन्छु।'
भदौ २५ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको श्रव्यदृश्यमा अस्पतालको मूल गेटभन्दा बाहिर सडकपेटीमा एक महिलाले बच्चा जन्माएको देखिन्छ। बच्चा जन्मिसकेको र साल (प्लासेन्टा) समेत बाहिर निस्किसकेको अवस्थामा महिला सडकपेटीमा रहेको देखिएपछि घटनालाई लिएर सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएका हुन्।
सरकारी अस्पतालमै यस्तो घटना हुनु दुखद् भन्दै चिकित्सकहरूले आलोचना गरेका छन्। वरिष्ठ चिकित्सक डा. सन्तोष पौडेलले भनेका छन्, ‘यो त दयनीय भो मानवता र करुणा कहाँ गयो?'
यस्तै अर्का चर्चित मनोचिकित्सक डा. अनन्त अधिकारीले पनि यो घटनाप्रति दुख व्यक्त गरेका छन्। डा. अधिकारीले भने 'अस्पतालको सामाजिक सेवा एकाइको स्थिति त राम्रै देखिएको थियो। त्रुटि कहाँ, कुन स्टेपमा मा भएछ त ? कस्तो दु:खद खबर!'