गगनसँगको संवादबारे इतर समूहलाई शेखरको ब्रिफिङ, देउवाको सम्मानजनक बहिर्गमन नयाँ बटमलाइन

गगनसँगको संवादबारे इतर समूहलाई शेखरको ब्रिफिङ, देउवाको सम्मानजनक बहिर्गमन नयाँ बटमलाइन

काठमाडौँ । नेपाली कांग्रेसमा आन्तरिक विवाद समाधानका लागि डा शेखर कोइराला मध्यस्थकर्ताको भूमिका खेल्न अघि सरेका छन्। आइतबार सभापति गगन थापासँग भेटवार्ता गरेका शेखरले सोमबार अपरान्ह चुनदेवी पुगेर निवर्तमान सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। 

संस्थापन इतर पक्षले अगाडि सारेका अधिकांश पूर्ववर्ती माग सम्बोधन गर्ने गरी सभापति थापाले राखेको प्रस्तावबारे शेखरले देउवालाई ब्रिफिङ गरेका हुन्। देउवा समूहलाई बाहिरै राखेर सहमति खोज्ने सभापति थापाको प्रस्तावमा कोइराला सकारात्मक छैनन्। सभापति थापाले १५ औँ महाधिवेशन गर्ने छुट्टै राजनीतिक ‘संयन्त्र’ बनाउन तयार रहेको भन्दै त्यसको नेतृत्व लिन शेखरलाई प्रस्ताव गरेका थिए। 

आइतबार भएको भेटमा सभापति थापाले महाधिवेशनको निष्पक्षताका लागि राजनीतिक संयन्त्रको नेतृत्व लिन प्रस्ताव गरेपछि शेखरले देउवाबिनाको एकताको अर्थ नहुने जवाफ दिए। पार्टीको सम्पूर्ण एकताका ‘जेजति त्याग गर्न’ पनि आफू तयार रहेको शेखरको भनाइ थियो। 

‘शेरबहादुर देउवाबिनाको एकताको अर्थ हुँदैन। उहाँको ग्रेसफुल एक्जिट कसरी सम्भव हुन्छ,’ गगनसँग शेखरले भने, ‘त्यही अनुसार सहमति खोजौँ। पार्टी एकता हुने मूल्यमा मलाई कुनै पद चाहिँदैन।’ 

शेखरले आफू एक्लै विशेष महाधिवेशन पक्षधरसँग समाहित नहुने जनाएपछि भेटवार्ता सार्थक नभएको सभापति थापाले आफू निकटसँग ब्रिफिङ गरेका थिए। यता सभापति थापासँग भएको संवादबारे शेखरले आइतबार नै शशांक निवास महाराजगन्जमा देउवा समूहका नेताहरूलाई ब्रिफिङ गरेका थिए। संस्थापन पक्ष सहमतिमा लचिलो बनेपछि इतर पक्षले देउवाको ‘ग्रेसफुल एक्जिट’लाई बटमलाइन बनाएको देखिन्छ।

शेखर कोइराला निकट निवर्तमान केन्द्रीय सदस्य सञ्जय गौतमले पनि देउवाको ग्रेसफुल एक्जिट हुनेगरी सहमतिको एउटा मोडालिटीका बारेमा छलफल भइरहेको बताए। ‘शेरबहादुर देउवाको ग्रेसफुल एक्जिटमा सहमतिको मोडालिटी खोज्न सकिन्छ कि भन्नेमा छलफल भइरहेको छ,’ उनले भने, ‘१५ औँ महाधिवेशन उद्घाटनको सभापतित्व र समापन सत्रको सम्बोधनबाट उहाँको सम्मानजनक बहिर्गमनले पार्टीमा सहमति जुटाउन सक्छ कि भन्ने विकल्पमा कुराकानी भइरहेको छ।’ 

यसअघि संस्थापन इतर पक्षबाटै महाधिवेशनको निष्पक्षताका लागि छुट्टै संयन्त्र बन्नुपर्ने प्रस्ताव आएको थियो। उक्त प्रस्तावमा १५ सदस्यीय संयन्त्र बनाउने, नेतृत्वसहित बहुमत सदस्य सभापति थापाकै हुने र अरू इतर पक्षबाट समेट्नुपर्ने माग थियो।

संस्थापन पक्ष यसमा तयार हुन नसकेको गौतम बताउँछन्। अहिले थापाले १५ सदस्यीय ‘संयन्त्र’को नेतृत्व नै शेखरलाई दिएर सहमति खोज्ने प्रयास गरेका छन्। आफ्नो पक्षबाट ८ जना सदस्य र नेतृत्वको अतिरिक्त इतरपक्षबाट ६ जना सदस्य राख्न सकिने थापाको प्रस्ताव छ। उक्त संयन्त्रले देउवाको माग सम्बोधन हुन नसक्ने भएकाले देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गराउन तयार भए मात्र एकता सम्भव हुने नेता डा प्रकाशशरण महतले बताए। 

‘सम्मानजनक बिदाइका लागि पनि देउवाको नेतृत्वमा महाधिवेशनमा जाऔँ भन्ने हाम्रो कुरा हो,’ उनले भने, ‘यसमा सहमति भयो भने अदालतमा विचाराधीन मुद्दा फिर्ता लिन सकिन्छ। पार्टी एकतामा पनि बल पुग्छ।’ तर, महामन्त्री प्रदीप पौडेलले विशेष महाधिवेशनको औचित्य समाप्त नहुनेगरी सबै विषयमा सहमति गर्न सभापति थापा तयार रहेको बताए। 

‘यसअघि तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाले जे–जे माग राख्नुभएको थियो, त्यसलाई स्वीकारेर एकता कायम गर्न सकिने सन्देश हाम्रोतर्फबाट दिइसकेका छौँ,’ उनले भने, ‘शेखर कोइरालाले शेरबहादुर देउवासँग कुरा गर्छु भन्नुभएको छ। हामी उहाँको सन्देशको प्रतीक्षामा छौँ।’

पार्टीमा बृहत् एकताका लागि महाधिवेशनको कार्यतालिका संशोधन गर्ने सहमति भएको उनको भनाइ छ। साउन २४ देखि भदौ १ सम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी २४ गतेबाट वडा अधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरेको थियो। कांग्रेसको निर्वाचन समितिले आगामी असोज ४ गते वडा अधिवेशन गर्ने गरी दोस्रो पटक कार्यतालिका संशोधन गर्ने भएको छ। 

‘शेखर कोइरालासँग भेटेर आएपछि पार्टीको अनुशासन उल्लङ्घन गरेका, पार्टी परित्याग गरेका, निधन भएका बाहेक सबैलाई पन्ध्रौँ महाधिवेशनका लागि नवीकरण गरे पनि अद्यावधिक नगरेकाहरूलाई १५ औँ महाधिवेशनमा सहभागी हुन मिल्ने निर्णय गरौँ भन्नुभयो। सभापतिले भनेपछि हामी सबैले मान्यौँ,’ पौडेलले भने। 

पार्टीमा एकताका लागि संवाद र सहमति खोज्ने प्रयासमा सभापति थापा गम्भीर भएर अगाडि बढेको उनको भनाइ छ।

 

छुटाउनुभयो कि ?