एजेन्सी: विश्व रुपको महामारीमा फैलिरहेको कोरोनाको कारण विश्व बजारमा देखिएको अभावसँगै विभिन्न देशले मास्क, पीपीई ९व्यक्तिगत सुरक्षा सामग्री० तथा अन्य मेडिकल उपकरणको व्यापारमा बेइमानी भएको बताएका छन् । जर्मनीले आफ्नो देश ल्याउन लागिएका २ लाख मास्क लगेको भन्दै अमेरिकामाथि ‘आधुनिक डकैती’ गरेको बताएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जर्मनी लैजान लागिएका मास्क अमेरिकामा निर्मित हुन् । बर्लिनस्थित एक स्थानीय सरकारले मगाएका ‘एफएफपी–२’ मास्क बैंककमा जफत गरिएको हो । ती मास्क बर्लिनको प्रहरीका निम्ति मगाइएको बताइएको छ ।
चीनका वुहानबाट फैलिएको भाइरसबाट युरोपेली देश र अमेरिका अति प्रभावित भएको देखिएको छ । बर्लिनका आन्तरिक मामिलामन्त्री आन्द्रियास गिजेलले ती मास्क अमेरिकातर्फ लगिएको दाबी गरेका छन् ।
कोरियाली युद्धताका निर्मित कानुनको उपयोग गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो देशका उत्पादन अन्य देशमा निर्यात गर्न प्रतिबन्ध लगाएपछि मास्क निर्माता अमेरिकी कम्पनी थ्री एम उक्त कदम चाल्न बाध्य भएको जनाइएको छ ।
ट्रम्पले ‘डिफेन्स प्रोडक्सन एक्ट’ नामक कानुन लागू गर्दै मेडिकल सामग्रीको उत्पादन तथा आपूर्ति गर्ने अमेरिकी कम्पनीलाई घरेलु माग धान्न बाध्य पारेका थिए । ‘ती सामान घरेलु प्रयोगका लागि तत्काल हामीलाई चाहिन्छ । ती हामीसँगै हुनैपर्छ,’ कारोना भाइरससम्बन्धी दैनिक ब्रिफिङका क्रममा ट्रम्पले भने ।
ट्रम्पले करिब २ लाख ‘एन–९५’ मास्क, १ लाख ३० हजार सर्जिकल मास्क तथा ६ लाख पन्जा अमेरिकी अधिकारीहरूले जफत गरेका बताए । यद्यपि, राष्ट्रपति ट्रम्पले ती कहाँ र कसरी जफत गरिएका हुन् भन्ने खुलाएनन् ।