बाढीका कारण सडक सम्पर्क विच्छेद बनेको गत्लाङकी सुत्केरी र नवजात शिशुको हवाई उद्धार

बाढीका कारण सडक सम्पर्क विच्छेद बनेको गत्लाङकी सुत्केरी र नवजात शिशुको हवाई उद्धार

काठमाडौँ। रसुवाको आमाछोदिङमो गाउँपालिका-३, गत्लाङकी २९ वर्षीया फुर्पुयामो तामाङ र उनका नवजात शिशुको हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको छ। गत्लाङ स्वास्थ्य चौकीमा बच्चा जन्माएपछि दुवैको स्वास्थ्यमा जटिलता देखिएपछि थप उपचारका लागि काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भर्ना गरिएको हो।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण आमाछोदिङमो गाउँपालिका यातायात सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएको छ। सडकमार्गबाट तत्काल सुविधासम्पन्न अस्पतालसम्म पुर्‍याउन सम्भव नभएपछि महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा हवाई उद्धार गरिएको हो।

सरकारले स्वीकृत गरेको विशेष कार्यविधिअनुसार बाढी-पहिरोका कारण सडक अवरुद्ध भई जोखिममा परेका गर्भवती, सुत्केरी तथा २४ घण्टाभित्रका नवजात शिशुलाई हवाई उद्धार गर्ने व्यवस्था रहेको छ।

सोही प्रावधानअन्तर्गत आमा र शिशुको जीवनरक्षाका लागि उद्धार गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले उद्धार कार्यमा सहयोग गर्ने स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सम्बन्धित कर्मचारीहरूलाई धन्यवादसमेत व्यक्त गरेको छ।

छुटाउनुभयो कि ?