बाढी प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा खोज र उद्धार कार्य ब्रेक थ्रु नभएसम्म नरोकिने सेनाको स्पष्टोक्ति

बाढी प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा खोज र उद्धार कार्य  ब्रेक थ्रु नभएसम्म नरोकिने सेनाको स्पष्टोक्ति

काठमाडौँ । बाढीका कारण क्षति पुगेका जलविद्युत् आयोजनाका सुरुङ (टनेल) हरूमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धार कार्य निरन्तर जारी रहने नेपाली सेनाले जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा सेनाका सहायक रथी सुवाशजंग थापाले सरकारले काम रोक्ने निर्णय गरेको अवस्थामा बाहेक उद्धार कार्य नरोकिने स्पष्ट पारे।

सेनाको आँकलनअनुसार जलविद्युत् आयोजनाका टनेलमा बाढी तथा लेदो करिब १८० किलोमीटर प्रतिघण्टाको तीव्र गतिमा पसेको थियो। हाल रसुवा र नुवाकोटका आयोजनाहरूमा करिब १२१ जना स्वदेशी तथा विदेशी नागरिक फसेको सेनाको अनुमान छ। उद्धार टोलीहरू उपकरणसहित रसुवागढी, त्रिशूली–३ 'ए', त्रिशूली–३ 'बी', चिलिमे र माथिल्लो त्रिशूली–१ का सुरुङ तथा पावरहाउसहरूमा लेदो पन्छाउने र प्रवेशमार्ग बनाउने काममा जुटिरहेका छन्।

सेना र इप्पानको तथ्याङ्कमा भिन्नता

सेनाले १२१ जना फसेको अनुमान गरे पनि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले भने उद्धार तथा सम्पर्कविहीनको तथ्याङ्क निकै ठूलो रहेको जनाएको छ। इप्पानका अनुसार:

  • माथिल्लो त्रिशूली–१: ५७६ जना सम्पर्कविहीन रहेकोमा ३ सयभन्दा बढी सुरुङभित्र फसेको अनुमान छ। भदौ १० को बाढीपछि यस आयोजनाबाट हालसम्म २५४ जनाको उद्धार भइसकेको छ।

  • माथिल्लो त्रिशूली–३ 'ए': सम्पर्कविहीन ४२ जनामध्ये ३५ जना सुरुङभित्र रहेका छन्। आइतबार सुरुङको मुख्य भागमा प्वाल पारिए पनि भित्रबाट कुनै प्रतिक्रिया नआएपछि ब्लास्टिङ गरी प्रवेशमार्ग फराकिलो बनाइँदै छ।

  • लाङटाङ जलविद्युत् आयोजना: सुरुङभित्र ४२ जना फसेको र बाहिरका १९ जनाको उद्धार भइसकेको छ। यहाँ नेपाली र भारतीय सेनाले संयुक्त रूपमा उद्धारको प्रयास गरिरहेका छन्।

  • माथिल्लो त्रिशूली–३ 'बी': २१३ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन्। बाढीले सुरुङबाहेकका धेरैजसो पूर्वाधार बगाएको छ।

  • अन्य आयोजना तथा संरचना: रसुवागढीका ९३ जना, चिलिमेका ८ जना, मैलुङ खोलाका ७ जना, रसुवा भोटेकोशीका ४ जना, त्रिशूलीका २ जना, मिडिल त्रिशूलीका २ जना र देवीघाटका १ जना सम्पर्कविहीन छन्। साथै त्रिशूली ३ 'बी' हब सबस्टेसनका १६ जना, प्रसारणलाइन र वितरण केन्द्रका अन्य ३ जना पनि अझै सम्पर्कमा आएका छैनन्।

छुटाउनुभयो कि ?