काठमाडौँ । रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाई लुटपाट गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
गत बिहीबार राति करिब १२ बजे रामेछापको खाँडादेवी गाउँपालिका–२, मझुवा नेवारटोलस्थित ८५ वर्षीय बखतमान लामा र उनकी ८६ वर्षीया श्रीमती कान्छीमाया तामाङ आफ्नै घरमा सुतिरहेको अवस्थामा नकाबधारी तीन जनाको समूह घरभित्र प्रवेश गरेको थियो।
उनीहरूले वृद्ध दम्पतीको हात प्लास्टिकको टेपले बाँध्नुका साथै मुख थुनेर आँखामा पट्टी बाँधेका थिए। ज्यान मार्ने धम्की दिँदै नियन्त्रणमा लिएर उनीहरूले वृद्ध दम्पतीले लगाएका गरगहना तथा घरमा राखिएको नगद लुटपाट गरी फरार भएका थिए।
घटनाबारे अनुसन्धान गर्ने क्रममा प्रहरीले लुटपाटमा संलग्न पाँच जनालाई शनिबार भक्तपुरका विभिन्न स्थानबाट लुटपाटका सामान तथा घटनामा प्रयोग गरिएका सवारीसाधनसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ का २५ वर्षीय सुमन जर्घा मगर रहेका छन्। उनी काठमाडौंस्थित निजी विद्यालयको सवारी चालक रहेको प्रहरीले जनाएको छ। उनको साथबाट नगद २५ हजार रुपैयाँ, रेड्मी कम्पनीको एन्ड्रोइड मोबाइल एक थान र बा।७३ प ८७१२ नम्बरको रातो–कालो रङको २२० सीसीको मोटरसाइकल बरामद भएको छ।
त्यस्तै, रामेछापको खाँडादेवी गाउँपालिका–२ का ३२ वर्षीय दीर्घराज मोक्तान पनि पक्राउ परेका छन्। उनी बसको सहचालकका रूपमा काम गर्ने गरेको खुलेको छ। उनको साथबाट नगद ५२ हजार २०० रुपैयाँ, नेपाली नागरिकता एक थान, राहदानी एक थान, एनएमबी बैंकको चेक एक थान, ग्लोबल आइएमई बैंकको राजस्व तिरेको बिल एक थान तथा घटनामा प्रयोग भएको ज्याकेट र हाफ कट्टु बरामद भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, काठमाडौंमा मोटरसाइकलमा इन्ड्राइभ गर्ने रामेछाप खाँडादेवी गाउँपालिका–२, मझुवाका ३३ वर्षीय पशुपति श्रेष्ठ पक्राउ परेका छन्। उनको साथबाट बा।७२ प ५५८ नम्बरको मोटरसाइकल, नगद ६ हजार ४६० रुपैयाँ, मोबाइल एक थान, लक्ष्मी सनराइज बैंकको खातामा रहेको १ लाख ३१ हजार १४ रुपैयाँ ८२ पैसा, शुभश्री बचत तथा ऋण सहकारी संस्थाको बचत बुक एक थान, चार्जर एक थान, नेपाली नागरिकता एक थान, बुद्धचित्त मालाका २२ वटा दाना, ढलौटको पानसरटुकी दुई थान, पुराना सिक्का पाँच थान र सुनजस्तो पहेँलो धातुको औँठी एक थान बरामद भएको छ।
भक्तपुरमा सुनचाँदी व्यवसाय गर्ने झापाको दमक नगरपालिका–७ का ४४ वर्षीय पिताम्बर गहतराज पनि पक्राउ परेका छन्। त्यस्तै, धनकुटाको बेलहारा नगरपालिका–५ का ३८ वर्षीय दिपक भनिने गुणराज विश्वकर्मालाई सुनजस्तो पहेँलो धातुको रिङ दुई थानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतका अनुसार अनुसन्धानका क्रममा पशुपति श्रेष्ठको समूहले खाँडादेवी गाउँपालिका–७ स्थित रुद्रेश्वर महादेव मन्दिरको दानपेटिका फुटाएर रकम चोरी गरेको समेत खुलेको छ।
यस्तै, असार १ गते राति खाँडादेवी गाउँपालिका–३ की सुन्दरी श्रेष्ठको करिब २८र३० केजीको खसी तथा भदौ ७ गते राति भिरपानीका रामबहादुर श्रेष्ठको गोठबाट करिब १५ केजीको बोका चोरी भएको घटनामा पनि पशुपति श्रेष्ठको समूहको संलग्नता रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीको सीआरएस जाँच गर्दा पशुपति श्रेष्ठविरुद्ध प्रहरी वृत्त कालीमाटीमा डाँका तथा चोरी कसुरमा मुद्दा चलेको देखिएको छ। दीर्घराज मोक्तानविरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा अभद्र व्यवहारसम्बन्धी मुद्दा चलेको पाइएको प्रहरीले जनाएको छ।
त्यस्तै, दिपक भनिने गुणराज विश्वकर्माविरुद्ध प्रहरी वृत्त बौद्ध, काठमाडौंमा जुवासम्बन्धी कसुरमा मुद्दा चलेको देखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।