काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन वार्ता भएको छ ।
भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीले नेपालमा ठूलो जनधनको क्षति गरेपछिको अवस्थामा सोमबार लामिछाने र रुबियोबीच टेलिफोन वार्ता भएको हो । टेलिफोन अमेरिकी विदेशमन्त्री रुबियोले गरेको रास्वपाले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेको छ ।
“टेलिफोन वार्ताका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोसी बाढीमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जनाउनुभयो,” रास्वपाले भनेको छ । टेलिफोन वार्तामा सभापति लामिछानेले नेपाल सरकारले हाल जारी खोज, उद्धार तथा राहत कार्यका लागि उपलब्ध सबै स्रोत–साधन परिचालन गरिरहेको जानकारी गराएका थिए ।
नेपाली नागरिकका साथसाथै नेपाल सबै विदेशी नागरिकको सुरक्षाका लागि पनि उत्तिकै प्रतिबद्ध रहेको आश्वासन सभापति लामिछानेले विदेशमन्त्री रुबियोलाई दिएका थिए । यस कठिन परिस्थितिमा पुर्याएको सहयोगका लागि सभापति लामिछानेले अमेरिकी सरकारप्रति आभार प्रकट गरेका थिए । जवाफमा अमेरिकी विदेशमन्त्री रुबियोले अमेरिका नेपाल सरकारलाई थप सहयोग गर्न तयार रहेको बताएका थिए ।