काठमाडाैं। वाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा बाढीले पुरिएको चारतले घरको माथिल्लो तलाबाट ६४ वर्षीया चन्डिका श्रेष्ठको ११ औँ दिनमा जीवितै उद्धार गरिएको छ। सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले अचेत अवस्थामा रहेकी श्रेष्ठलाई उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत प्राथमिक उपचारका लागि त्रिशूलीस्थित मैधली ब्यारेक पुर्याएको छ।
यस अद्भूत र अकल्पनीय उद्धारको खबरपछि प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै ६४ वर्षीया श्रेष्ठको जीवितै उद्धार हुनुले सिङ्गो देशलाई नै नयाँ आशा र भरोसा दिएको बताएका छन्। विपद्का बेला राज्यका सुरक्षा निकाय र उद्धार टोलीहरू अझै पनि निरन्तर, पूर्ण निष्ठा र डटेर लागिपरेको सन्देश यस घटनाले दिएको उनले उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले राज्य संयन्त्र खोज तथा उद्धारमा अहोरात्र खटिरहेको बताउँदै यसअघि पनि प्रभावित क्षेत्रबाट सोही उमेर समूहका धेरै आमाबुबाको सफल उद्धार गरिसकिएको जानकारी दिए। बाढीको विपत्तिमा वृद्धवृद्धाहरूले देखाएको अभूतपूर्व साहस र धैर्यताको स्मरण गर्दै उनले भने, ‘लौरो नटेकी दुई पाइला सर्न नसक्ने उमेरमा पनि आफ्ना नातिनातिना जोगाउन अनौठो हिम्मत देखाएर डाँडातिर भागेका कथा हृदयविदारक छन्। बाढीका कारण कतिपय वृद्धआश्रममा बसिरहेका आमाबुबाहरू समेत विस्थापित हुनुपरेको स्थिति छ।’
सङ्कटको यो कठिन घडीमा ज्येष्ठ नागरिकहरूलाई विचलित नहुन र नआत्तिन आग्रह गर्दै प्रधानमन्त्रीले ढाडस दिएका छन्, ‘जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौँ। हजुरहरूसँग यो राज्य र यो सरकार सधैँ साथमा छ।’
विपदका बीच बेत्रावतीमा घटेको यो चमत्कारिक घटना र त्रिशूली जलविद्युत् आयोजना क्षेत्रका सुरुङहरूबाट भइरहेका सफल उद्धारका खबरहरूले बेपत्ता भएका अन्य नागरिकका परिवारजनमा समेत जीवितै भेटिने आशा जगाएको छ।