काठमाडौँ । पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) को वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा इन्धन र एलपी ग्यासको आपूर्ति व्यवस्था मिलाएको छ।
गत भदौ १४ गते त्रिशूली नदीको कटानका कारण कृष्णभीरमा सडक भासिएपछि ट्याङ्कर तथा ग्यास बुलेटको आवतजावत रोकिएकाले तराईका डिपोबाट सिलिन्डर भरेर बाइरोड हुँदै काठमाडौँ ल्याउन थालिएको हो। यसक्रममा आज मात्रै उपत्यकाका लागि विभिन्न ब्रान्डका करिब २४ हजार ५०० सिलिन्डर भित्र्याइएको र भोलिदेखि यो क्रम थप परिमाणमा नियमित गरिने निगमले जनाएको छ।
यसअघि भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लामा जारी उद्धार तथा राहत कार्यका लागि निगमले इन्धन वितरणलाई निरन्तरता दिइरहेको छ। खोज तथा उद्धार कार्यमा खटिएका हेलिकप्टरहरूको इन्धन व्यवस्थापनका लागि नेपाली सेनासँगको समन्वयमा नुवाकोटस्थित सेनाको ब्यारेकबाट रिफ्युलिङ सेवा सञ्चालन गरिएको छ, जसअन्तर्गत भदौ १० देखि हालसम्म १ लाख २ हजार लिटर हवाई इन्धन पठाइसकिएको छ।
यसैगरी निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयमार्फत बाढी प्रभावित क्षेत्रमा सञ्चालनमा रहेका पेट्रोल पम्पहरूलाई हालसम्म १ लाख ५ हजार लिटर पेट्रोल र २ लाख २ हजार लिटर डिजेल उपलब्ध गराइएको छ भने सार्वजनिक बिदाका दिनमा समेत इन्धन बिक्री वितरणको प्रबन्ध मिलाइएको छ।
बाढी प्रभावित क्षेत्रका सेल्टरमा रहेका नागरिकका लागि नेपाल एलपी ग्यास उद्योग संघबाट प्राप्त १ हजार २५० सिलिन्डरमध्ये राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा रसुवा र नुवाकोटमा ५०० थान ग्यास सिलिन्डर पठाइसकिएको निगमले जनाएको छ।