काठमाडौं। अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज (बुधबार) बिहान ६:३५ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सजग रहन र सम्भव भएसम्म वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ।
काठमाडौँ–धादिङ जोड्ने चन्द्रागिरी नगरपालिका–२ स्थित चिसापानीमा पहिरोका कारण अवरुद्ध बनेको सडक खण्ड अहिले भने एकतर्फी सुचारु भएको छ।
यसैगरी, वीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। उक्त सडक खण्डमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको मूल्याङ्कन गरेर मात्र सवारीसाधन सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढी आएका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ।
यस्तै, नुवाकोट जोड्ने टोखा–छहरे सडक खण्ड अन्तर्गत शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा पनि रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। सुरक्षालाई ध्यानमा राख्दै राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको ट्राफिक प्रहरीले जनाएको छ।