अस्पतालको भ्यानबाट ६० किलो गाँजा बरामद, चालक फरार

अस्पतालको भ्यानबाट ६० किलो गाँजा बरामद, चालक फरार

विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले अस्पतालको भ्यानमा राखिएको अवस्थामा गाँजा बरामद गरेको छ ।

विराटनगर महानगरपालिका-१६ दरैयास्थित कोलर चोकमा सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाबाट खटिएको टोलीले मंगलबार राति ६० केजी गाँजा बरामद गरेको हो । राति ११:०० बजेको समयमा ‘दिव्य ज्योती अस्पताल प्रा. लि.’ लेखिएको को१च ६६२० नम्बरको सुजुकी भ्यानलाई सुरक्षाकर्मीले रोक्न खोजेका थिए ।

सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्न खोज्दा भ्यानका चालक गाडी छोडेर फरार भएका थिए । चालक फरार भएपछि सुरक्षाकर्मीले भ्यान खानतलासी गर्दा दुईवटा बोरामा प्याक गरिएको अवस्थामा करिब ६० किलो गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएको भ्यान र गाँजा नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।