काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले रसुवा बाढीबाट प्रभावित जलविद्युत् आयोजनाहरूको सुरुङमार्गमा फसेका नागरिकको उद्धार गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा फसेकाका पीडित परिवार र आयोजना सञ्चालक समितिका पदाधिकारीहरूसँग मन्त्रालयमा आयोजित संयुक्त छलफलका क्रममा मन्त्री श्रेष्ठले उद्धारका लागि राज्यले हरसम्भव प्रयास गरिरहेको स्पष्ट पारे।
टनेलमा फसेका नागरिक केवल पीडित परिवारका सदस्य मात्र नभई राज्यकै अमूल्य जनशक्ति र सम्पत्ति भएको उल्लेख गर्दै उनले विपद्का कारण राज्यले ठूलो जनशक्ति गुमाउनुपरेको बताए। “मलाई अहिले पनि कहीँ न कहीँ कोही जीवितै पो छ कि, कसैले उद्धारको प्रतीक्षा गरिरहेको छ कि भन्ने जिम्मेवारीबोध भइरहेको छ,” मन्त्री श्रेष्ठले भने, “यस्तो अकल्पनीय महाविपत्ति आइदियो कि हामी स्तब्ध छौँ। तर म के विश्वास दिलाउन चाहन्छु भने सिङ्गो राज्य र सरकार तपाईँहरूसँगै छ।”
उद्धार कार्यका लागि प्रधानमन्त्रीले समेत स्रोत–साधनको कुनै कमी हुन नदिने र आवश्यक पर्ने सम्पूर्ण कदम चाल्न निर्देशन दिएको उनले जानकारी गराए।
पीडित परिवारलाई समयमै सही जानकारी दिनुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले सूचना प्रवाहलाई पारदर्शी र द्रुत बनाउन निर्देशन दिए। पीडित परिवारलाई दैनिक रूपमा कार्यालयमै राखेर अद्यावधिक (अपडेट) गराउन र बोर्डले हरेक परिवारका लागि २४ सै घण्टा सम्पर्क व्यक्ति तोक्नुपर्ने उनले बताए।
“उहाँहरूले धेरै केही खोज्नुभएको छैन, केवल सत्य र तथ्य सूचना खोज्नुभएको हो। हरेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले स्वयं पीडित परिवारसँग निरन्तर संवादमा रहनुपर्छ,” उनले भने। मन्त्री श्रेष्ठले उद्धारका लागि आवश्यक प्राविधिक उपकरण लैजान भने हेलिकप्टरको अभावका कारण चुनौती थपिएको स्वीकार गरे।