कृष्णभीर पहिरो: पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउन कम्तीमा १० देखि १५ दिन लाग्ने

कृष्णभीर पहिरो: पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउन कम्तीमा १० देखि १५ दिन लाग्ने

धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो खसेर अवरुद्ध भएको सडक तत्काल सञ्चालनमा ल्याउन अझै कम्तीमा १० देखि १५ दिन लाग्ने भएको छ। भोटेकोशीमा आएको ठूलो बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेर कृष्णभीर क्षेत्रमा सडकको तल्लो भाग कटान गरेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।

सडक विभागले यो राजमार्गलाई उच्च प्राथमिकतामा राख्दै प्राविधिक तथा भौगर्भिक विज्ञसहितको टोली परिचालन गरेर काम थालेको छ। प्रभावित क्षेत्रको स्थलगत अध्ययन तथा प्राविधिक परीक्षणपछि सम्भव भएसम्म १० देखि १५ दिनभित्र सडक सञ्चालनमा ल्याउने विभागको तयारी छ।

सडक विभागका सहसचिव चुणाराज ढकालका अनुसार बाढीको उच्च बहावले सडकको तल्लो भाग कटान गरेको र माथिल्लो भू-भागमा समेत चिरा परेर पहिरो खसेको हो। पृथ्वी राजमार्ग देशकै ‘लाइफलाइन’ भएकाले विभागले सबै विकल्पको अध्ययन गर्दै विज्ञहरूसँगको परामर्शमा काम अघि बढाउने जनाएको छ।

एक लेन (सिंगल लेन) डाइभर्सनबाट सडक खोल्ने विकल्प

सडक विभागका भू–प्राविधिक विज्ञ मधुसूदन आचार्यका अनुसार कृष्णभीरको पहिरो पुरानै ‘स्लोप फेलियर’ भएको क्षेत्रमा पुनः दोहोरिएको हो। प्रभावित क्षेत्रको माथिल्लो भागमा रहेको जोखिमयुक्त माटो तथा संरचना हटाएर ‘सिंगल लेन डाइभर्सन’ निर्माण गर्न सकिने सम्भावना देखिएको छ।

ड्रोनबाट खिचिएका तस्बिर र प्रारम्भिक अध्ययन अनुसार नदीको तल्लो भागमा ‘बेडरक’ भेटिएकाले तत्काल माथिबाट कटिङ गरी डाइभर्सन निर्माण गरेर सडक खोल्ने योजना अघि सारिएको छ।

सय मिटर क्षेत्रबाट हजारौँ घनमिटर सामग्री हटाइने

पहिरो प्रभावित क्षेत्र करिब १०० मिटर लामो र १० देखि १५ मिटर अग्लो छ। यहाँबाट हजारौँ घनमिटर पहिरो तथा लेदो हटाउनुपर्ने देखिएको छ। तीनदेखि चारवटा मेसिन एकैपटक परिचालन गरी तीव्र गतिमा काम गर्दा करिब १५ दिनमा एक लेन सडक सञ्चालनमा ल्याउन सकिने अनुमान गरिएको छ। पूर्ण रूपमा दुई लेन सडक खुलाउनुअघि जोखिम कम गर्दै पहिले सिंगल लेन सञ्चालन गर्ने र पछि स्थायी संरचना बनाउने विभागको तयारी छ।

नदी कटान रोक्न ‘जिओब्याग’ र ‘ग्याभिन नेट’ प्रयोग गरिने

तल्लो भागमा नदी कटान नियन्त्रणका लागि ‘जिओब्याग’, ‘ग्याभिन नेट’ तथा बोल्डरलाई नेटले र्‍याप गर्ने प्रविधि प्रयोग गरिनेछ। यसले तल्लो भागको कटान रोकेर माथिल्लो भागको स्लोपलाई थप भत्किनबाट जोगाउने प्राविधिकहरूको भनाइ छ।

वैकल्पिक सडक प्रयोगको तयारी

मुख्य राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन समय लाग्ने भएपछि सडक विभागले वैकल्पिक रुट तथा स्थानीय सडक प्रयोग गरेर यातायात व्यवस्थापन गर्ने तयारीसमेत गरेको छ। यसका लागि स्थानीय सडकको अवस्था, क्षमता र सम्भावित ट्राफिक डाइभर्सनबारे पनि अध्ययन भइरहेको छ।