काठमाडौं। गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेका नागरिकको उद्धारका लागि सरकारले सम्पूर्ण शक्ति र क्षमता प्रयोग गरिरहेको बताएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री गुरुङले उद्धारको प्रयास निरन्तर जारी रहेको र आशा नमारेको स्पष्ट पारे। सुरुङको माथिल्लो भाग पत्ता लगाएर खोज तथा उद्धारको प्रयास भइरहेको र राज्य आफ्नो जिम्मेवारीबाट कुनै पनि हालतमा पछि नहट्ने प्रतिबद्धता उनले व्यक्त गरे।
बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिको खोजीका लागि उपलब्ध सबै सुरक्षा संयन्त्र परिचालन गरिएको गृहमन्त्रीले जानकारी दिए। उद्धारका क्रममा भोग्नु परेका जटिलताबारे स्पष्ट पार्दै त्रिशूली–३ ‘ए’ मा खोजीका लागि जाँदा बाक्लो दलदल रहेकाले एक्साभेटरसमेत डुबेको तर अहिले सुरुङको माथिल्लो भाग (क्राउन) सम्म पुग्न सफलता मिलेको उनले बताए। विद्युत् गृहको माथिबाट खनेर भित्र जाने विकल्पमाथि काम भइरहेको जानकारी पनि उनले दिए।
सरकारले खोज तथा उद्धारका लागि विदेशी सहयोग लिन नचाहेको भन्ने भनाइमा कुनै सत्यता नरहेको स्पष्ट पार्दै विभिन्न टनेलमा ड्रोन पठाइएको र सुरुङभित्र रहेका मानिसहरू पानी खाएर भए पनि जीवितै होलान् भन्ने आशाका साथ उद्धार कार्य जारी राखिएको उनले बताए।
विपद्पछिको खोज, उद्धार र राहतका लागि उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरिएको गृहमन्त्री गुरुङले बताए। बाढी प्रभावित क्षेत्रमा बिहान ९ बजेर १५ मिनेटमा पूर्वसूचनाको एसएमएस पठाइएको र लगत्तै सुरक्षाकर्मीले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान माइकिङ गरेको जानकारी पनि उनले दिए।