काठमाडौं। मंगलबार बसेको सर्वदलीय बैठकले विपद् व्यवस्थापन, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन केन्द्रमा गठित सर्वदलीय संयन्त्रलाई प्रदेश र स्थानीय तहसम्मै विस्तार गर्ने निर्णय गरेको छ।
बैठकपछि नेपाली काङ्ग्रेसका प्रवक्ता देवराज चालिसेले दिएको जानकारीअनुसार उद्धार तथा राहतका काममा तीनै तहका सरकारबिच मजबुत समन्वय कायम गर्ने र राजनीतिक दलहरूले पूर्ण सहयोग एवम् समर्थन पुर्याउने सहमति भएको छ।
केन्द्रमा जस्तै प्रदेश र स्थानीय तहमा पनि सरकार रहेकाले तल्लो तहसम्मै सर्वदलीय संयन्त्र बनाएर समन्वयात्मक रूपमा काम अघि बढाइने प्रवक्ता चालिसेले बताए। संविधान र कानुनले दिएको अधिकार प्रयोग गर्दै वडाध्यक्ष तथा स्थानीय जनप्रतिनिधिको नेतृत्वमा कानुनी र व्यावहारिक प्रक्रिया पूरा गरी पीडितसम्म छिटो राहत पुर्याउने निर्णय बैठकले गरेको छ।
विपद्को यस संवेदनशील घडीमा राजनीतिक दलहरूका बिच पूर्ण सहकार्य र समन्वय रहने निष्कर्ष बैठकले निकालेको छ। उद्धार र राहत अभियानमा सबै दल एकजुट भएर लाग्ने र यस विषयमा कुनै पनि प्रकारको राजनीति नगर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।