काठमाडौं। गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित रसुवा र नुवाकोट क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल विद्युत् प्राधिकरण तथा मित्रराष्ट्रका विज्ञ टोली परिचालन गरी खोजी, उद्धार र राहत कार्यलाई तीव्रता दिइएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटले जारी गरेको अद्यावधिक विवरणअनुसार बाढी प्रभावित जलविद्युत् आयोजनाहरूमा टनेलभित्र फसेका नागरिकहरूको खोजी कार्य कठिन परिस्थितिका बिच जारी राखिएको छ।
त्रिशूली ३–ए जलविद्युत् आयोजनामा ९० जनाको टोली खटिएर इनलेटमा ड्रिलिङ गरी पानी बाहिर निकाल्ने र खोजी गर्ने काम गरिरहेको छ। त्रिशूली ३–बीमा हेलिकप्टरमार्फत एक्साभेटर पुर्याई ४७ जनाको टोली परिचालन गरिएको छ। माथिल्लो त्रिशूली–१ को टनेल हेड र टनेल टेल क्षेत्रमा ३ देखि ४ मिटरसम्म बाक्लो दलदल रहेकाले उद्धार कठिन बनेको छ। त्यहाँ नेपाली सेनाको समन्वयमा विदेशी विज्ञ टोली ३०० मिटरसम्म भित्र छिरेर खोजीमा जुटेको छ। यसका साथै चिलिमे, रसुवागढी र लाङटाङ क्षेत्रका जलविद्युत् आयोजनाका सुरुङहरूमा पनि खोजी प्रयास जारी छ। नुवाकोटका सात स्थानमा सेनाको ग्राउन्ड फोर्स तथा पेट्रोल टोली तैनाथ गरिएको छ।
सडक पूर्वाधारतर्फ गल्छी–देवीघाट सडक खण्डको ठूलो खोला पुल मर्मत र लेदो हटाउने काम भइरहेको छ भने तादी खोलाको बगाएको बेली ब्रिजको सट्टा नयाँ संरचनाका लागि सर्वेक्षण सुरु गरिएको छ। बेत्रावतीतर्फ करिब ३०० मिटर सडक नदीले पूरै काटेकाले वैकल्पिक मार्गको पहिचान भइरहेको छ। बाहुनेबेँसी–लाच्याङ–पर्च्याङ–धुन्चे र ढिकुरे–फेदीबेँसी–चोगटे हुँदै जाने बाटोमा साना सवारी सञ्चालनमा ल्याइएको छ भने ठुला सवारी साधन सञ्चालनका लागि पूर्वाधार खुलाउने प्रयास जारी छ।
विदुर र बेलकोटगढी नगरपालिका क्षेत्रका दर्जानौँ होल्डिङ सेल्टरमा हजारौँ पीडितलाई राखिएको छ। कोलोनी कभर्ड हल, महादेव मावि जिलिङ, देविघाट, बट्टार कभर्ड हल, तुप्चेटार लगायतका स्थानमा रहेका सेल्टरहरूमा खाद्यान्न र राहत सामग्री पुर्याइएको छ। देवीघाटमा बोरिङ तथा जेनेरेटर प्रयोग गरी र विदुरमा ट्याङ्करमार्फत खानेपानी वितरण भइरहेको छ। अधिकांश शिविरमा राहत पुगे पनि सीमित स्थानमा मात्रै मेडिकल टोलीको उपस्थिति रहेकाले स्वास्थ्य सेवा अझै पर्याप्त हुन सकेको छैन।
राहत वितरणलाई गृह मन्त्रालय, एनडीआरआरएमए, जिल्ला प्रशासन र स्थानीय तहको संयुक्त संयन्त्रमार्फत एकद्वार प्रणालीबाट सञ्चालन गरिएको छ। भदौ १५ र १६ गते गरी २३ भन्दा बढी हवाइ उडानमार्फत दुर्गम क्षेत्रमा राहत सामग्री पुर्याइएको छ। कोल्पु खोलादेखि मैलुङ शान्ति बजार क्षेत्रसम्म त्रिशूली नदीको वारिपारि ३० वटा क्षेत्रलाई आधार बनाएर शव खोजी कार्य भइरहेको छ।
जिल्ला प्रशासनका अनुसार बाढी सुरु भएदेखि भदौ १६ गते बिहानसम्म कुल ३,१६२ जनाको जीवितै उद्धार गरिएको छ, जसमा २,९०८ नेपाली र २५४ विदेशी नागरिक छन्। यस अवधिमा आंशिक अङ्गसहित १५१ वटा शव फेला परेका छन्, जसमध्ये ५१ जनाको पहिचान खुलेको छ भने १०० जनाको पहिचान हुन बाँकी छ। घाइते ६१ जनाको उपचार भइरहेको छ।
बाढीमा परी अझै २,२५१ जना नागरिक बेपत्ता रहेका छन्। बेपत्ता हुनेमा १,६१५ नेपाली पुरुष, ४०७ नेपाली महिला र ५५ जना विदेशी तथा पहिचान नखुलेका नागरिक रहेका छन्। पछिल्लो २४ घण्टामा मात्रै थप २३ जनाको उद्धार गरिएको र २१ वटा शव फेला परेको प्रशासनले जनाएको छ।