भोटेकोशी-त्रिशूली बाढी: उद्धार तीव्र पार्न कांग्रेसको आग्रह, प्रधानमन्त्री कोषमा एक करोड दिने निर्णय

भोटेकोशी-त्रिशूली बाढी: उद्धार तीव्र पार्न कांग्रेसको आग्रह, प्रधानमन्त्री कोषमा एक करोड दिने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढी प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनालाई चुस्त र प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ।

सानेपास्थित बीपी स्मृति भवनमा आइतबार पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको पदाधिकारी तथा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले उद्धार कार्यलाई थप गति दिन सरकारको ध्यानाकर्षण गराएको हो।

बैठकमा विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समितिका संयोजक एवं रसुवाका सांसद इन्जिनियर मोहन आचार्य, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सहमहामन्त्री बहादुरसिंह लामा, नेता जगदीश्वरनरसिंह केसी र नुवाकोट कांग्रेस सभापति रमेश महतले प्रभावित क्षेत्रको वस्तुस्थितिबारे जानकारी गराएका थिए। समितिका सदस्य-सचिव मानबहादुर थापाले पार्टीका तर्फबाट भइरहेको समन्वय र आगामी तयारीबारे अवगत गराए।

बैठकपछि कांग्रेसले संकटको यस परिस्थितिमा सरकार, प्रतिपक्षी दल, संघ-संस्था, निजी क्षेत्र र नागरिक समाज सबैको ध्यान विपद् व्यवस्थापनमा केन्द्रित हुनुपर्ने स्पष्ट पारेको छ। बाढीमा बेपत्ता भएकाहरूको खोजी, जोखिममा रहेकाहरूको तत्काल उद्धार तथा स्थानान्तरण र प्रभावितलाई राहत पुर्याउन सरकारसँग पुनः आग्रह गर्दै कांग्रेसले जीवनरक्षालाई सर्वोच्च प्राथमिकता दिई गरिने हरेक सकारात्मक कार्यमा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएको छ।

प्रभावित क्षेत्रमा आफन्त हराइरहे पनि खोजीमा ढिलाइ भएको, 'एकद्वार प्रणाली'का नाममा राहत व्यवस्थापन फितलो बनेको र अति प्रभावित स्थानमा सामग्री पुग्न नसकेको जनगुनासोप्रति कांग्रेसले ध्यानाकर्षण गराएको छ।

विशेष गरी सुरुङभित्र फसेकाहरूको उद्धारमा भएको ढिलाइमा चिन्ता व्यक्त गर्दै प्रचारभन्दा परिणाममुखी काममा ध्यान दिन सरकारलाई सुझाइएको छ। आवश्यकता अनुसार अत्याधुनिक उपकरण, दक्ष जनशक्ति र प्रविधि परिचालन गर्नका साथै हवाई उद्धारलाई प्रभावकारी बनाउन माग गरिएको छ। सुरुङभित्रको जटिल उद्धारका लागि विदेशी प्राविधिक टोली भित्र्याउन वा आवश्यक परे हेलिकप्टर भाडामा लिएर भए पनि गति बढाउन कांग्रेसले आग्रह गरेको छ।

यसैबिच, कांग्रेसले पार्टीका तर्फबाट एकमुष्ट रूपमा १ करोड रुपैयाँ रकम प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ। दोहरापन रोक्न र राहत व्यवस्थापन व्यवस्थित बनाउन पार्टीका विभिन्न निकायबाट सङ्कलित रकमसहित उक्त सहयोग हस्तान्तरण गरिने जनाइएको छ।