काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा भेटवार्ता भएको छ। भेटमा हालैको प्राकृतिक विपद्, खोजी, उद्धार तथा राहत वितरणमा तीन तहका सरकारबीच देखिएको समन्वयको कमी र आगामी रणनीतिबारे छलफल भएको छ।
भेटका क्रममा मुख्यमन्त्री किरण थापाले विपद् व्यवस्थापनमा तीनवटै तहका सरकारबीच आवश्यक समन्वय हुन नसकेको बताए। अन्तर-सरकार समन्वय अभावकै कारण प्रदेश सरकारले आफ्नै तरिकाले काम गरिरहनुपरेको उनको भनाइ थियो। प्रधानमन्त्री प्रभावित क्षेत्रको निरीक्षणमा जाँदासमेत प्रदेश सरकारलाई कुनै पूर्वजानकारी नदिइएको भन्दै उनले दुःखी व्यक्त गरे।
विपद्का बेला दुविधा हटाउन तीन तहका सरकार (सङ्घ, प्रदेश र स्थानीय) मा कसले के काम गर्ने हो सोको कार्यविभाजन र स्पष्ट सीमांकन हुनु अत्यावश्यक रहेको मुख्यमन्त्री थापाले औँल्याए। प्रभावित क्षेत्रमा राहत पठाउन असहज भइरहेको र पठाइएका राहत सामग्री पनि नुवाकोटको बट्टार क्षेत्रमा मात्रै जम्मा भएर बसेको बताउँदै उनले सो स्थानभन्दा माथि दुर्गम क्षेत्रमा सामग्री पुर्याउन निकै कठिन भइरहेको जानकारी दिए। साथै, जलवायु परिवर्तनको दीर्घकालीन असरलाई मध्यनजर गर्दै नदी तथा खोला किनारका जोखिमयुक्त बस्तीहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न तीनवटै सरकारले समन्वयकारी ढङ्गबाट कदम चाल्नुपर्ने आवश्यकता उनले औँल्याए।
जवाफमा रास्वपा सभापति रवि लामिछानेले यस्तो सङ्कटपूर्ण विपद्का बेला स्थानीय र सङ्घीय सरकारलाई जोड्ने पुलको भूमिका प्रदेश सरकारले खेल्नुपर्नेमा जोड दिए। विपद्को समयमा सबै तहका सरकार र राजनीतिक दलहरू मिलेर समन्वयका साथ काम गर्नुपर्छ भन्ने कुरामा आफ्नो पार्टी पूर्ण रूपमा सचेत रहेको लामिछानेले बताए।
भोटेकोशी तथा आसपासका क्षेत्रमा बाढीपहिरोले पुर्याएको क्षति र प्रभावित नागरिकको राहतका लागि सङ्घीय सरकारका तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग र पहलका लागि आफ्नो तर्फबाट निरन्तर समन्वय गर्ने प्रतिबद्धतासमेत सभापति लामिछानेले व्यक्त गरे।