प्राकृतिक विपद्का बेला ठूलो संख्यामा हुने मानवीय क्षतिको व्यवस्थापन र मृतकको पहिचान कसरी गरिन्छ ? यसै सन्दर्भमा फरेन्सिक मेडिसिन विज्ञ प्रा.डा. हरिहर वस्तीसँग गरिएको कुराकानी :
पछिल्लो समय बाढी र पहिरोका कारण ठूलो संख्यामा मानवीय क्षति भइरहेको छ। यस्तो विपद्का बेला 'फरेन्सिक मेडिसिन' को भूमिका र महत्त्व के हुन्छ ?
'फरेन्सिक' शब्दको अर्थ नै प्रमाण र तथ्यसँग जोडिन्छ। फरेन्सिक मेडिसिन भनेको चिकित्सा विज्ञानको त्यो विधा हो, जसले चिकित्सा क्षेत्रका तथ्य र ज्ञानलाई कानुनी वा अदालती प्रक्रियामा उपयोग गर्छ। कुनै पनि घटनामा मृत्युको कारण के हो, घटनाको प्रकृति कस्तो हो र मृतकको पहिचान के हो भन्ने कुरा वैज्ञानिक ढंगले पत्ता लगाउन यसको निर्णायक भूमिका हुन्छ। विपद्का बेला त झन् यो झनै महत्त्वपूर्ण हुन्छ।
आम मानिसले फरेन्सिक भन्नाले 'शव चिर्ने काम' मात्र बुझ्छन्, वास्तविकता के हो ?
यो एउटा भ्रम मात्र हो। फरेन्सिक मेडिसिन मृत शरीर चिर्ने विषय मात्र होइन। जीवित व्यक्तिको परीक्षण पनि यसको उत्तिकै महत्त्वपूर्ण पाटो हो। जस्तै– बलात्कार वा अन्य यौनजन्य अपराधका पीडित तथा आरोपितको परीक्षण, कुटपिटको चोटको विश्लेषण, वा उमेर निर्धारण जस्ता काम पनि यसैअन्तर्गत पर्छन्। तर ठूलो विपद्का बेला भने यसको सबैभन्दा चुनौतीपूर्ण पक्ष शव पहिचानसँग जोडिन्छ।
बाढी वा ठूला दुर्घटनामा एकैपटक धेरै शव प्राप्त हुँदा व्यवस्थापनमा कस्ता प्राविधिक जटिलता आउँछन् ?
सुरुवाती चरणमा एक–दुई शव आउँदा व्यवस्थापन सजिलो हुन्छ। तर जब दर्जनौं वा सयौं शव आउँछन्, अवस्था जटिल बन्छ। विशेषगरी बाढीमा परेका शवहरू केही दिनमै फुल्ने, कुहिने र कीरा पर्ने हुन्छ। यस्तो अवस्थामा अनुहार हेरेर मात्र आफन्तले चिन्न सक्दैनन्। त्यसैले यस्तो बेला वैज्ञानिक विधिबाट परीक्षण गरी सबै प्रमाण सुरक्षित राख्नुपर्छ।
पहिचान नखुलेका शवको पहिचानका लागि कुन–कुन वैज्ञानिक विधि अपनाइन्छ ?
हामीले मुख्यतः दुई प्रकारका विवरण संकलन गर्छौं। सुरुमा मृतकको शारीरिक बनोट, पहिरन, गरगहना, ट्याटु, कोठी, खत वा कुनै पुरानो शल्यक्रियाको चिनो जस्ता 'पोस्टमार्टम डेटा' संकलन गरिन्छ। प्रत्येक शवलाई निश्चित कोड वा नम्बर दिएर फोटोसहित अभिलेख राखिन्छ। यदि त्यति गर्दा पनि पहिचान भएन भने औँठाछाप (फिङ्गरप्रिन्ट) र डीएनए परीक्षण जस्ता भरपर्दा वैज्ञानिक विधि प्रयोग गरिन्छ।
शव पहिचानमा मृतकका आफन्तले दिने विवरणको भूमिका कस्तो हुन्छ ?
आफन्तले दिने विवरण जसलाई हामी 'एन्टिमोर्टम डेटा' भन्छौं, त्यो अत्यन्तै महत्त्वपूर्ण हुन्छ। मृतकको उचाइ, कपालको प्रकृति, दाँतको अवस्था, पुराना चोटपटक वा हड्डी भाँचिएको इतिहास जस्ता विवरण आफन्तले उपलब्ध गराउँछन्। हामीले संकलन गरेको शवको विवरण र आफन्तले दिएको विवरणबीच तुलना गरिन्छ। यी दुई कुरा मिलेमा मात्र शव हस्तान्तरणको प्रक्रिया अघि बढ्छ।
धेरै मानिसको चाहना आफ्नो मान्छेको शव तुरुन्तै बुझ्न पाइयोस् भन्ने हुन्छ, के यो सधैँ सम्भव छ ?
ठूलो विपद्का बेला सबै शवको पहिचान तत्काल गर्न सम्भव हुँदैन। वैज्ञानिक प्रक्रियाको आफ्नै गति हुन्छ। विवरण संकलन, फोटो अभिलेख र नमुना संकलनमा समय लाग्छ। विज्ञको संख्या बढाए पनि एकैदिन सयौं शवको काम सकिँदैन। त्यसैले हतारिएर पहिचान नै नगरी शव दिनुभन्दा प्रमाण जोगाएर वैज्ञानिक ढंगले पहिचान गर्नु नै आफन्तका लागि पनि न्यायपूर्ण हुन्छ।
पर्याप्त शवगृह वा चिस्यान केन्द्र नभएको अवस्थामा शवलाई कसरी सुरक्षित राख्न सकिन्छ ?
यदि चिस्यान केन्द्रको अभाव छ र शव कुहिएर दुर्गन्ध फैलिने अवस्था आयो भने 'अस्थायी चिहान' एउटा विकल्प हो। शवको वैज्ञानिक अभिलेखीकरण गरेर, आवश्यक नमुना र फोटो सुरक्षित राखेर निश्चित स्थानमा गाड्न सकिन्छ। यसको अर्थ शव बेवारिसे बनाउनु होइन। पछि आफन्तले दाबी गर्दा वैज्ञानिक प्रमाणका आधारमा पुनः उत्खनन गरेर जिम्मा लगाउन सकिन्छ।
यस्ता अस्थायी चिहानमा रहेका शवको पहिचानका लागि कानुनी व्यवस्था के छ ?
निर्देशिका अनुसार यस्ता अस्थायी चिहानलाई १२ वर्षसम्मको अवधिसँग जोडिएको छ। यो अवधिमा आफन्तले मृतकको पहिचानसम्बन्धी दाबी गरेमा उपलब्ध अभिलेख र वैज्ञानिक प्रमाणका आधारमा खोज तथा पहिचानको प्रक्रिया अघि बढाउन सकिन्छ। यो मानवीय संवेदनासँग जोडिएको विषय भएकाले लामो समयपछि पनि पहिचानको प्रयास गर्न सकिन्छ।
अन्त्यमा, विपद् व्यवस्थापनमा राज्यले कुन पक्षमा ध्यान दिनु आवश्यक छ ?
हामीले आत्तिएर होइन, वैज्ञानिक प्रणालीबाट अघि बढ्नुपर्छ। ठूलो विपद्को सम्भावनालाई ध्यानमा राखेर राज्यले पर्याप्त शवगृह, प्रशिक्षित फरेन्सिक जनशक्ति, फिङ्गरप्रिन्ट विशेषज्ञ र डीएनए परीक्षणको क्षमता विस्तार गर्नुपर्छ। मृतकको संख्या गन्नु मात्र पर्याप्त हुँदैन, प्रत्येक शवको सम्मानजनक व्यवस्थापन र सही पहिचान गर्नु राज्यको प्रमुख दायित्व हो।