काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण पुरिएको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङको मुख भेटिएको छ । सुरुङ विज्ञ तथा रास्वपा सांसद इन्जिनियर श्रीराम न्यौपानेका अनुसार भर्टिकल होलबाट करिब ४० मिटर माथिल्लो (अपस्ट्रिम) क्षेत्रमा सुरुङको मुख फेला परेको हो ।
न्यौपानेले सामाजिक सञ्जालमार्फत दिएको अपडेटअनुसार भर्टिकल होलभन्दा करिब ८ मिटर तल सुरुङको मुख भेटिएको जनाएका छन् । उद्धार टोलीले यसअघि ड्रिलिङ र उत्खननमार्फत सुरुङको माथिल्लो भाग (क्राउन) पत्ता लगाउने प्रयास गरिरहेको थियो ।
सुरुङको मुख भेटिएसँगै आयोजनाको सुरुङभित्र फसेका प्राविधिक तथा कर्मचारीको उद्धारलाई तीव्रता दिने तयारी भइरहेको छ । उद्धारको लागि आवश्यक स्काभेटर र डोजर नुवाकोटको बट्टार पुर्याइएको छ । ती उपकरणहरूलाई त्यहाँ खण्ड–खण्ड (डिसमेन्टल) पारेर हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लगिएको छ ।
बाढीका कारण सुरुङको प्रवेश मार्ग लेदो, माटो र ढुंगा माटोले पुरिएपछि उद्धार कार्य कठिन बनेको छ । नेपाली सेना, नेपाल विद्युत् प्राधिकरण तथा सुरुङ विज्ञहरूको टोलीले ड्रिलिङ मेसिन, एक्स्काभेटर र अन्य उपकरण प्रयोग गरी सुरुङसम्म पहुँच बनाउने काम गरिरहेका छन् । उद्धारका लागि भारतीय र चिनियाँ प्राविधिक टोलीसमेत परिचालन गरिएको नेपाली सेनाले जनाएको छ ।
आयोजनाको भूमिगत विद्युत गृहमा काम गरिरहेका करिब ४०–४५ जना प्राविधिक तथा कर्मचारी सुरुङ क्षेत्रमा फसेको अनुमान गरिएको छ ।