भोटेकोशी विपद्: खोजी र राहतमा जुट्न रास्वपाका सबै निकायलाई सभापति लामिछानेको निर्देशन

भोटेकोशी विपद्: खोजी र राहतमा जुट्न रास्वपाका सबै निकायलाई सभापति लामिछानेको निर्देशन

काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न संकटपूर्ण परिस्थितिमा खोजी, उद्धार र राहत कार्यलाई तीव्रता दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सिङ्गो पार्टी संयन्त्रलाई परिचालन गरेको छ।

बाढी प्रभावित क्षेत्रमा भइरहेका कार्यहरूबारे सभापति रवि लामिछानेले पार्टीका सम्बन्धित विभाग, स्थानीय तहका प्रतिनिधि तथा परिचालन टोलीसँग विस्तृत ब्रिफिङ लिएका छन्। ब्रिफिङका क्रममा प्रभावित क्षेत्रको पछिल्लो अवस्था, क्षतिको विवरण, उद्धारमा देखिएका चुनौती र पीडितहरूलाई पुर्याउनुपर्ने तत्कालको राहतबारे गहन छलफल भएको थियो।

स्थिति समीक्षापछि सभापति लामिछानेले पार्टीको केन्द्रीय, प्रदेश, जिल्ला तथा स्थानीय तहका सम्पूर्ण निकाय, भ्रातृ संगठन र स्वयंसेवक टोलीहरूलाई तत्काल पूर्ण क्षमतामा उद्धार र राहतमा जुट्न कडा निर्देशन दिएका छन्।

उद्धार र राहतका कार्यहरू गर्दा स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग पूर्ण समन्वय गरी एकद्वार प्रणालीमार्फत काम गर्न ताकेता गरिएको छ। साथै, बाढी तथा पहिरोको जोखिम कायमै रहेका तटीय क्षेत्रमा नागरिकलाई सुरक्षित स्थानमा सार्न र आवश्यक सहयोग पुर्याउन स्वयंसेवकहरूलाई खटाउन भनिएको छ।

बाढीपीडितहरूका लागि तत्काल खाद्यान्न, पिउने पानी, त्रिपाल, कम्बल र आपत्कालीन स्वास्थ्य सामग्रीको सहज उपलब्धता सुनिश्चित गर्न मातहतका निकायलाई सजग गराइएको छ। यस संकटको घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट गलत सूचना र अफवाह फैलिन नदिई आधिकारिक सूचना मात्र प्रवाह गर्न र नागरिकलाई संयमित रहन सघाउन आग्रह गरिएको छ।

विपद्को यो कठिन समयमा दलीय राजनीतिभन्दा माथि उठेर मानवीय सेवामा लाग्न आग्रह गर्दै सभापति लामिछानेले पीडितको आँसु पुछ्न र नागरिकको जीवन रक्षा गर्न रास्वपा अग्रपंक्तिमा रहेर खट्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।