काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूको सीप, अनुभव, पुँजी र प्रविधिलाई राष्ट्र निर्माणमा उपयोग गर्न राज्यले ‘रिटर्नीमैत्री’ नीति तथा कानुन निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
‘रिटर्नीमैत्री नीति र पुनः एकीकरण: सदनको भूमिका र राज्यको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले विदेशमा हासिल गरेको ज्ञान र दक्षतालाई स्वदेशमै उद्यमशीलतामा बदल्ने अनुकूल वातावरण बनाउनुपर्ने बताए।
पोखरेलले भने, “विदेशबाट फर्किएका नेपालीहरूले ल्याएको सीप र पुँजीलाई नेपालमा उपयोग गर्ने वातावरण राज्यले बनाउनुपर्छ। त्यसका लागि स्पष्ट नीति र कार्यान्वयनयोग्य कानुन आवश्यक छ। रिटर्नीहरूका जायज अपेक्षालाई नीतिगत रूपमै सम्बोधन गरिनुपर्छ।”
विदेशी पुँजी र प्रविधि भित्र्याउन डायस्पोरा ‘सूत्रधार’ बन्नसक्ने
महासचिव पोखरेलले विदेशमा कार्यरत नेपालीहरूले बहुराष्ट्रिय कम्पनीहरूसँगको अनुभव र सम्पर्क प्रयोग गरी नेपालमा वैदेशिक लगानी र प्रविधि भित्र्याउन ‘सूत्रधार’को भूमिका खेल्न सक्ने बताए। राज्यले सहजीकरण गरेमा गैरआवासीय नेपाली तथा डायस्पोराको सञ्जालमार्फत ठूलो पुँजी परिचालन गर्न सकिने उनको भनाइ थियो।
यस्तै, विदेशमा रहेका नेपाली समुदायलाई देशको राष्ट्रिय हित र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि समेत उपयोग गर्न सकिने पोखरेलले उल्लेख गरे।
दक्ष जनशक्तिको अभिलेख तयार पार्न र संसद्मा विषय उठाउन सुझाव
विदेशमा रहेका नेपाली युवाले हासिल गरेको ज्ञान र क्षमताको राज्यले छुट्टै अभिलेख (रेकर्ड) तयार गरी उनीहरूलाई राष्ट्र निर्माणको अभियानमा जोड्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा पोखरेलले रिटर्नीसम्बन्धी नीतिगत सुधारका लागि ठोस अवधारणापत्र र प्रस्ताव तयार गरी सम्बन्धित मन्त्रालयमा बुझाउन सुझाव दिए। साथै, विद्यमान विधेयक र कानुनहरूको समीक्षा गर्दै आवश्यक सुधारका लागि सांसदहरूमार्फत संसद्मा बलियोसँग आवाज उठाउन पनि उनले आग्रह गरे।