पत्रकार किशोर श्रेष्ठ पक्राउमा उपसभामुख रुवि कुमारीको विवादास्पद टिप्पणी, आलोचनापछि मध्यराति फेसबुकबाट हटाइन्

पत्रकार किशोर श्रेष्ठ पक्राउमा उपसभामुख रुवि कुमारीको विवादास्पद टिप्पणी, आलोचनापछि मध्यराति फेसबुकबाट हटाइन्

काठमाडौं। वरिष्ठ पत्रकार एवं जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेलगत्तै प्रतिनिधिसभाकी उपसभामुख रुवि कुमारी ठाकुरले सामाजिक सञ्जालमार्फत अशोभनीय टिप्पणी गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले पत्रकार श्रेष्ठलाई सरकारले पक्राउ गरेर ठीक गरेको आशयको अभिव्यक्ति दिएकी हुन्।

उपसभामुख ठाकुरले पत्रकारिताको आवरणमा श्रेष्ठले महिलाहरूलाई आत्महत्या गर्न दुरुत्साहन र बाध्य पारिरहेको आरोप लगाउँदै लेखेकी थिइन्, "यो श्रीसा कार्कीलाई आत्महत्या गराउने र कयौँ युवतीलाई आत्महत्या दुरुत्साहन गर्ने पत्रकारको भेषमा राक्षस नै हो। यसले कयौँ महिला दिदीबहिनीको चरित्र हत्या गरेको छ। यसको जनआस्था पत्रकार आचारसंहिता विपरीत रहेको छ। यो राक्षसलाई के भन्ने ????"

संसद्को उपसभामुखजस्तो गरिमामय र तटस्थ संवैधानिक पदमा रहेको व्यक्तिले अनुसन्धानकै क्रममा रहेको विषयमा सामाजिक सञ्जालमा यस्तो उत्तेजक र अशोभनीय टिप्पणी गरेपछि चौतर्फी आलोचना भएको थियो। तीव्र आलोचना र विरोधपछि उनले उक्त विवादित पोस्ट फेसबुकबाट हटाइसकेकी छन्।

बुधबार साँझ ललितपुरस्थित निवासबाट उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले पत्रकार श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो। उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हाल श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ भने उहाँलाई भोलि (बिहीबार) म्याद थप तथा आवश्यक कानुनी प्रक्रियाका लागि अदालतमा उपस्थित गराउने प्रहरीको तयारी रहेको छ।

छुटाउनुभयो कि ?