विराटनगर। केन्द्रमा बदलिएको राजनीतिक समीकरणको असर प्रदेशमा पर्दै जाँदा नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले बुधबार मुख्यमन्त्रीसमक्ष सामूहिक रूपमा आफ्नो राजीनामा बुझाएका हुन्।
पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीका अनुसार कांग्रेसका सबै मन्त्रीहरूले औपचारिक रूपमा पदबाट राजीनामा दिएका छन्। केन्द्रमा नेकपा (एमाले) र नेकपाबीच नयाँ सत्ता गठबन्धन बनेपछि कोशी प्रदेशमा रहेका कांग्रेस मन्त्रीहरूलाई सरकार छाड्न राजनीतिक दबाब बढेको थियो।
कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट मुख्य पाँच जना मन्त्री तथा राज्यमन्त्री सहभागी थिए। जसमा भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटनमन्त्री भीम पराजुली र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ रहेका थिए।
कांग्रेस सरकारबाट बाहिरिएसँगै अब प्रदेश सरकारमा नेकपा सहभागी हुने तयारी भएको छ। नयाँ राजनीतिक समीकरणअनुसार अब चाँडै कोशी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुने बताइएको छ।