सर्वोच्चमा मुद्दा विचाराधीन रहेको भन्दै महाधिवेशनका सबै प्रक्रिया रोक्न डा. शशांक कोइरालाको आग्रह

सर्वोच्चमा मुद्दा विचाराधीन रहेको भन्दै महाधिवेशनका सबै प्रक्रिया रोक्न डा. शशांक कोइरालाको आग्रह

काठमाडौं।  नेपाली कांग्रेसको देउवा पक्षीय राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीको आगामी महाधिवेशनसहितका सम्पूर्ण महत्त्वपूर्ण निर्णयहरू तत्कालका लागि रोक्न आग्रह गरेका छन्।

कोइरालाले कांग्रेस केन्द्रीय कार्यालय र निर्वाचन आयोगलाई औपचारिक पत्र पठाउँदै सर्वोच्च अदालतबाट मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म पार्टीका सबै प्रक्रियालाई यथास्थितिमा राख्न माग गरेका हुन्।

सर्वोच्च अदालतको पूर्ण इजलासले गत साउन २२ गते कांग्रेसको वैधानिकता र नेतृत्वसम्बन्धी विवादमा पुनरावलोकनको अनुमति (निस्सा) प्रदान गरिसकेकाले तत्कालीन नेतृत्वको कानुनी हैसियत पुनः न्यायिक परीक्षणको दायरामा पुगेको कोइरालाको दाबी छ।

अदालतमा विचारधीन मुद्दाका कारण पार्टीभित्र थप कानुनी जटिलता पैदा नहोस् भन्दै उनले तत्कालीन महामन्त्री गगनकुमार थापा तथा सम्बन्धित पक्षलाई महाधिवेशनका गतिविधिहरू अगाडि नबढाउन आग्रह गरेका छन्।

पत्रमार्फत कोइरालाले पार्टीको १५औँ महाधिवेशन वा विशेष महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण साङ्गठनिक, प्राविधिक र नीतिगत कार्यतालिकाहरू स्थगित गर्न जोड दिएका छन्।

साथै, अदालतको अन्तिम फैसला नआएसम्म दीर्घकालीन असर पर्ने खालका कुनै पनि राजनीतिक, साङ्गठनिक, नीतिगत तथा आर्थिक निर्णयहरू नगर्न पनि उनले माग गरेका छन्। उल्लेख्य छ कि देउवा पक्षले यही साउन २९ देखि ३१ गतेसम्मका लागि राष्ट्रिय भेलाको आयोजना गरेको छ।

छुटाउनुभयो कि ?