‘भिन्न परिवेश, साझा आकांक्षा’ नाराका साथ देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै, उत्कृष्ट उद्यमीहरू पुरस्कृत हुने

‘भिन्न परिवेश, साझा आकांक्षा’ नाराका साथ देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै, उत्कृष्ट उद्यमीहरू पुरस्कृत हुने

काठमाडौं।  ‘भिन्न परिवेश, साझा आकांक्षा’ भन्ने मूल नाराका साथ आज देशभर विभिन्न सचेतनामूलक तथा प्रोत्साहनमूलक कार्यक्रम गरी भव्य रूपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ।

समाज र राष्ट्र निर्माणमा युवा वर्गको भूमिका तथा महत्त्वलाई उजागर गर्ने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००० देखि हरेक वर्ष अगस्ट १२ तारिखका दिन यो दिवस मनाउन थालिएको हो।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस र पैरवी सञ्चालन गर्नुका साथै नीति निर्माण एवं कार्यान्वयनको तहमा युवाहरूको सक्रिय सहभागिता, साझेदारी र लगानी अभिवृद्धि गर्ने यस दिवसको मुख्य ध्येय रहेको छ।

दिवसका अवसरमा काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष मूल समारोहका साथै सूचना प्रविधि तथा स्टार्टअप प्रदर्शनी र उच्चस्तरीय प्यानल छलफल आयोजना गरिँदैछ। समारोह अघि भृकुटीमण्डपदेखि कमलादीसम्म ‘युवा जागरण दौड’ सञ्चालन गरिनेछ।

दिवसको विशेष अवसरमा सूचना प्रविधि तथा ‘स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कार’बाट ६ वटा उत्कृष्ट व्यवसाय र देशका सातै प्रदेशका उदयीमान युवा उद्यमीहरूलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यसूची रहेको छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या १ करोड २४ लाख १२ हजार १७३ अर्थात् कुल जनसङ्ख्याको ४२.५६ प्रतिशत रहेको छ।

छुटाउनुभयो कि ?