काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा सवारी साधन आयात गर्दा यहाँको भूगोल, सडकको अवस्था, इन्जिनियरिङ तथा प्रयोगकर्ताको मनोविज्ञानलाई ध्यान दिनुपर्ने बताएका छन्।
मङ्गलवार नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६ को उद्घाटन समारोहमा बोल्दै महानिरीक्षक कार्कीले सवारी साधनको सुरक्षासँग नागरिकको जीवन जोडिएको उल्लेख गरे।
“सवारी साधन आयात गर्दा नेपालको भूगोल, सडकको अवस्था, इन्जिनियरिङ र प्रयोगकर्ताको मनोविज्ञानलाई समेत ध्यान दिनुपर्छ,” उनले भने, “यसरी सवारी साधन आयात गर्दा यात्रु सुरक्षित हुन्छन् कि हुँदैनन् भन्ने विषयलाई ध्यानमा राखेर मैले यो कुरा राखेको हुँ।”
सडकमा गुड्ने प्रत्येक सवारी साधन जति सुरक्षित हुन्छन्, त्यसमा सवार नागरिक पनि त्यति नै आश्वस्त हुन सक्ने उनले बताए।
सडक सुरक्षालाई थप प्रभावकारी बनाउन नेपाल प्रहरीले आफ्नो भूमिका निर्वाह गरिरहेको स्पष्ट पार्दै कार्कीले सडक दुर्घटनाको कारण चालकको लापरवाही मात्र नभई नेपालको भूगोल, सवारी साधनको अवस्था र सडकको इन्जिनियरिङ पनि उत्तिकै जिम्मेवार हुने उल्लेख गरे। उनले सडक सुरक्षा सुधारका लागि यी सबै पक्षमा समान रूपमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्।