काठमाडौं। साउन महिनाको अन्तिम सोमबारका अवसरमा आज बिहानैदेखि काठमाडौँको पशुपतिनाथलगायत देशभरका प्रमुख शिवालयहरूमा दर्शनार्थीहरूको ठूलो घुइँचो लागेको छ।
झमझम पानी परिरहेका बाबजुद शिवभक्तहरू छाता ओढेर र पानीमा रुझ्दै अनुशासित रूपमा लामबद्ध भएर मन्दिरभित्र प्रवेश गरिरहेका छन्।
भक्तजनको सहजतालाई ध्यानमा राख्दै बिहान ३:०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै वटा ढोका खोलिएको छ।
पशुपतिनाथ जाने प्रमुख मार्गहरू गौशाला, जयवागीश्वरी, मित्र उद्यान, चाबहिल, मैजुबहाल, चुच्चेपाटी, कुमारीगाल, वाग्मती करिडोर, गुह्येश्वरी, मृगस्थली, गौरीनगर र पिङ्गलास्थान आसपासबाट भक्तजनहरूको आवतजावत निरन्तर जारी छ। कतिपय क्षेत्रमा गौरीनगरसम्मै दर्शनार्थीहरूको लामो लाइन लागेको छ।
यस अवसरमा पशुपतिनाथमा आउने श्रद्धालुहरूका लागि सहज, सुरक्षित र व्यवस्थित दर्शनका साथै विशेष पूजाको प्रबन्ध मिलाइएको छ। बिहानैदेखि सुन्दरीजलबाट वाग्मतीको पवित्र जल बोकेर ल्याई पशुपतिनाथमा चढाउने बोलबम यात्रुहरूको पनि छुट्टै लाम लागेको छ।
दर्शन व्यवस्थापनलाई प्रभावकारी बनाउन पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारीहरूसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी र विभिन्न धार्मिक तथा सामाजिक संघ-संस्थाहरू परिचालन भएका छन्। सवारी आवागमनलाई व्यवस्थित बनाउन गौशाला, जयवागीश्वरी, सिफल, चाबहिल लगायतका क्षेत्रमा ट्राफिक प्रहरीको बाक्लो उपस्थिति रहेको छ।
बिहान ३:०० बजे खुलेका मन्दिरका चारै ढोका बेलुकाको आरतीपछि राति ८:०० बजेसम्म खुला रहनेछन् भने विशेष पूजा भने बिहान ८:३० देखि मध्याह्न १२:०० बजेसम्म मात्र सञ्चालन हुने कोषले जनाएको छ।
मन्दिर प्रवेशका लागि चारै तर्फबाट लामको व्यवस्था गरिएको र बिहानैदेखि भक्तजन आए पनि लामो समय लाइनमा पर्खिनुपर्ने अवस्था नरहेको कोषका प्रतिनिधिले जानकारी दिएका छन्।
यस्तै, पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक स्वास्थ्य उपचारलगायत अत्यावश्यक सुविधाहरूको व्यवस्था गरिएको छ भने विभिन्न सामाजिक संस्थाहरूले निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेका छन्।
काठमाडौँ उपत्यकाका प्रसिद्ध शिवालयहरू गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर तथा वसन्तपुर दरबार क्षेत्रस्थित ‘सानो पशुपतिनाथ’का रूपमा परिचित मक्खन महादेव मन्दिरका साथै देशभरका साना-ठूला शिव मन्दिरहरूमा पनि बिहानैदेखि पूजाअर्चना गर्ने भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ।