काठमाडौं। सौरमासअनुसार साउन महिनाको अन्तिम सोमबार आराध्यदेव भगवान् श्री पशुपतिनाथलाई जल चढाउनका लागि हजारौँ भक्तजन सुन्दरीजल पुगेका छन्।
प्रत्येक वर्ष साउनको सोमबार वाग्मती नदीको उद्गमस्थल नजिकै रहेको सुन्दरीजलमा स्नान गरी शुद्ध जल लगेर पशुपतिनाथ मन्दिरमा चढाउने बोलबम परम्परा रहँदै आएको छ।
यस वर्षको अन्तिम सोमबारका लागि बोलबम काँरिया संघ र सनातन युवा मञ्च नेपाललगायतका संस्थाहरूको आयोजनामा बोलबम यात्रा सुरु भएको हो। भक्तजनहरू आइतबार राति नै सुन्दरीजल पुगेर स्नानलगायतका नित्यकर्म गरी जल लिने तयारीमा जुटेका थिए।
प्रहरी प्रभाग सुन्दरीजलका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक नवीनविक्रम थापाका अनुसार यस पटकको बोलबम यात्रामा १० हजारभन्दा बढी भक्तजनको उपस्थिति रहेको छ।
रातभर भजनकीर्तनमा रमाएका भक्तजनहरूले राति १२ बजेपछि सुन्दरीजलमा स्नान गरी खाली गोडा जल बोकेर पशुपतिनाथसम्मको यात्रा सुरु गर्ने गर्छन्।
बोलबम यात्रीहरूलाई जल चढाउन सहज होस् भन्नका लागि पशुपतिनाथ मन्दिरको उत्तरतर्फको ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ। भक्तजनहरूले बासुकी मन्दिर हुँदै उत्तर ढोकाबाट जल चढाउने प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव तीर्थ श्रेष्ठले जानकारी दिए।
यस्तै, साउनको अन्तिम सोमबार पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनको सम्भावित भीडलाई ध्यानमा राख्दै सोमबार बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै वटा ढोका खुला गरिने कोषले जनाएको छ।