सिंहदरबारको नाम फेरेर ‘अनामनगर दरबार’ राख्न रास्वपा सांसद हरि ढकालको सुझाव

सिंहदरबारको नाम फेरेर ‘अनामनगर दरबार’ राख्न रास्वपा सांसद हरि ढकालको सुझाव

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले देशको मुख्य प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम फेरिनुपर्ने धारणा राखेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालमा प्राकृतिक रूपमा सिंह नपाइने भएकाले यसको नाम ‘सिंहदरबार’ राखिनु व्यावहारिक नभएको बताए।

राजनीतिक परिवर्तनहरूसँगै देशका विभिन्न स्थानको नाम परिवर्तन गरिएजस्तै सिंहदरबारलाई पनि ‘अनामनगर दरबार’ नामाकरण गर्न सकिने उनको सुझाव थियो। नेपालमा सिंह नभए पनि दरबारको नाम सिंहदरबार राखिएको र यसको काम गर्ने शैली तथा हाउभाउ पनि उस्तै रहेको टिप्पणी गर्दै ढकालले यस किसिमको प्रशासनिक शैली र सोचलाई चिर्नुपर्ने आवश्यकता औँल्याए।

मुलुकको वर्तमान अवस्था र सुशासनका विषयमा बोल्दै सांसद ढकालले रातारात देश समृद्ध नहुने र सुशासन पनि एकैपटक कायम नहुने स्पष्ट पारे। अहिलेको मुख्य आवश्यकता एक-अर्कालाई दोषारोपण गर्नुभन्दा पनि नागरिकमा आशा र भरोसा जगाउने खालका बहस तथा पैरवी गर्नु रहेको उनको भनाइ थियो।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले हालै सामाजिक सञ्जालमा व्यक्त गरेको धारणाप्रति लक्षित गर्दै ढकालले यो कार्यकालमा सबैभन्दा ठूलो चुनौती नागरिकमा विश्वास जगाउनु रहेको बताए। एकैपटक कोही पनि धनी नबन्ने र एकैपटक सुशासन नआउने भएकाले सबै मिलेर नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा उनले जोड दिए।