कपिलवस्तुका पूर्वमेयर किरण सिंह तीन दिनपछि जंगलमा मृत फेला

कपिलवस्तुका पूर्वमेयर किरण सिंह तीन दिनपछि जंगलमा मृत फेला

काठमाडौं। तीन दिनदेखि रहस्यमय ढङ्गले सम्पर्कविहीन भएका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर एवं नेपाली काङ्ग्रेसका नेता ६५ वर्षीय किरण सिंह मृत अवस्थामा फेला परेका छन्।

शुक्रबार दिउँसोदेखि हराइरहेका सिंहको शव आइतबार जिल्लाको गोरुसिङ्गेस्थित जङ्गलभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोहर भट्टले जानकारी दिएका छन्।

प्रहरीका अनुसार शुक्रबार बिहान करिब २ बजे कपिलवस्तु नगरपालिका–३ स्थित आफ्नै निवासबाट निर्माणाधीन कृषि फार्म निरीक्षणका लागि निस्किएका सिंह सोही दिउँसो साढे ३ बजेतिर रामराज पुल नजिकैको सीसीटीभी फुटेजमा देखिएका थिए।

त्यसलगत्तै उनले आफन्तलाई टेलिफोन गरी आफू जङ्गलमा बाटो बिर्सिएर अलपत्र परेको जानकारी गराएका थिए। सोही कुराकानीपछि उनीसँगको सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो।

सिंह सम्पर्कविहीन भएलगत्तै सुरु गरिएको खोजीका क्रममा उनले प्रयोग गर्ने लु.प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल पूर्व–पश्चिम राजमार्गबाट करिब ८ किलोमिटर भित्री भागमा पर्ने गोरुसिङ्गे जङ्गल क्षेत्रमा शुक्रबार नै रोकिराखेको अवस्थामा फेला परेको थियो।

घटनापश्चात् नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दाका साथै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्याइएको ‘के-९’ युनिटको तालिमप्राप्त कुकुर र ड्रोन क्यामेराको सहयोगमा जङ्गल क्षेत्रमा सघन खोजी अभियान चलाइएको थियो।

विराटनगर पुर्ख्यौली घर भई लामो समयदेखि परिवारसहित कपिलवस्तुमा बस्दै आएका सिंह अघिल्लो स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फबाट नगर प्रमुखमा निर्वाचित भएका थिए।

प्रहरीले घटनाको वास्तविक कारण पत्ता लगाउन शवको प्रारम्भिक परीक्षण तथा पोस्टमार्टमको कानुनी प्रक्रिया अगाडि बढाउँदै प्राविधिक र स्थलगत अनुसन्धानलाई तीव्रता दिएको जनाएको छ।