फिफा र अध्यक्ष इन्फान्टिनोलाई कमजोर पार्ने प्रयास भइरहेको फिफाको आरोप

फिफा र अध्यक्ष इन्फान्टिनोलाई कमजोर पार्ने प्रयास भइरहेको फिफाको आरोप

काठमाडाैं। फिफाले संस्था र यसका अध्यक्ष जियानी इन्फान्टिनोलाई ‘कमजोर पार्ने’ उद्देश्यले ‘सङ्गठित र निरन्तर प्रयास’ भइरहेको भन्दै त्यसको कडा भर्त्सना गरेको छ।

‘डेली टेलिग्राफ’मा प्रकाशित एक समाचारपछि फिफाको यो वक्तव्य आएको हो। उक्त समाचारमा इन्फान्टिनो युरोपेली फुटबल महासङ्घ (युइएफए) को महासचिव छँदा अनैतिक सम्बन्धमा रहेका र ती महिलालाई युइएफएले अवकाश भुक्तानी (सेभरेन्स पेमेन्ट) दिएको दाबी गरिएको थियो।

फिफाका प्रवक्ताले ‘टेलिग्राफ’लाई प्रतिक्रिया दिँदै इन्फान्टिनोले ती आरोपहरूलाई ‘पूर्ण रूपमा अस्वीकार’ गरेको र ती ‘सरासर असत्य’ रहेको बताएका छन्।

फिफा आफैँले पनि ‘निराधार दाबी र स्पष्ट रूपमा असत्य आरोपहरू’माथि कडा आपत्ति जनाउँदै ‘काल्पनिक कुरा र आशङ्कालाई तथ्यका रूपमा प्रस्तुत गरिनु नहुने’ उल्लेख गरेको छ।

इन्फान्टिनोले अघि सारेको र पछि रद्द गरिएको ‘फिफा फरवार्ड इन्टरप्राइज’ (एफएफइ) प्रस्तावका कारण युइएफए र युरोपेली फुटबल सङ्घहरूबाट उनीमाथि दबाब बढ्दै गएको छ।

उक्त एफएफइ प्रस्तावअनुसार व्यावसायिक र टिकटिङ अधिकारहरू व्यवस्थापन गर्न नयाँ कम्पनी स्थापना गरिने र त्यसको २१ प्रतिशत सेयर निजी लगानी कम्पनीलाई बिक्री गरिने योजना थियो।

युइएफलेले इन्फान्टिनोप्रति विश्वास गुमेको बताएको छ भने नर्वेजियन फुटबल एसोसिएसन (एनएफएफ) कि अध्यक्ष लिसे क्लाभनेसले शुक्रबार स्वीस-इटालियन नागरिक इन्फान्टिनोलाई राजीनामा दिन आह्वान गरेकी थिइन्।

युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफलेले एफएफइ योजना पुनः ब्युँताइने छैन भन्ने ग्यारेन्टी नपाएसम्म फिफाका प्रतियोगिताहरू बहिष्कार गर्ने धम्की कायमै रहेको जनाएको छ।

शनिबार जारी वक्तव्यमा फिफाले भनेको छ, “फिफा अध्यक्ष फिफाका सदस्य सङ्घहरूद्वारा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनुभएको हो र उहाँहरूका जनादेश अनुसार नै कार्यसम्पादन भइरहेको छ।”

वक्तव्यमा अगाडि भनिएको छ, “केही समूहद्वारा फिफा र यसका अध्यक्षलाई कमजोर पार्ने सङ्गठित र निरन्तर प्रयास भइरहेको स्पष्ट देखिन्छ। फिफाका सदस्य सङ्घहरूको समर्थन नभएकाहरूले फिफाको स्थापित लोकतान्त्रिक प्रक्रियाबाट हासिल गर्न नसकेका कुराहरू आरोप, आशङ्का वा भ्रामक सूचनाका आधारमा हासिल गर्ने प्रयास गर्नु हुँदैन।”

इन्फान्टिनोको विरोध मुख्य गरी युरोपभित्रैबाट भइरहेको छ।

मेक्सिकन फुटबल फेडरेसनले भने आफ्नो क्षेत्रीय निकाय ‘कन्काकाफ’ (Concacaf) को अडानविपरीत इन्फान्टिनोको समर्थनमा उभिएको छ।

दक्षिण अमेरिकी फुटबल महासङ्घ (कन्मेबोल) को वक्तव्यलाई दोहोर्‍याउँदै मेक्सिकन फुटबल फेडरेसनले फिफाका सबै २११ सदस्य राष्ट्रहरू सहभागी हुने मतदानबिना इन्फान्टिनोलाई हटाउने कुनै पनि प्रयासलाई अस्वीकार गर्ने जनाएको छ।

इन्फान्टिनोलाई अफ्रिकी फुटबल महासङ्घ (सिएएफ) का ५४ वटा सदस्य राष्ट्रहरूले पनि सर्वसम्मत रूपमा समर्थन गरेका छन्।

छानाबिनको नाममा तथ्य बङ्ग्याउने छुट छैन: फिफा

इन्फान्टिनोले बुधबार मोरक्कोको रबातमा फिफा व्यवस्थापन समितिका सदस्यहरूको बैठक बोलाएका थिए।

फिफाले अध्यक्ष इन्फान्टिनो र महासचिव म्याथियास ग्राफस्ट्रोमको तर्फबाट जारी गरेको वक्तव्यमा एफएफइ प्रस्तावका लागि क्षमायाचना गरिएको थियो। तर, संस्थाले “आफ्नो निष्ठा, सुशासन र कानुनी प्रक्रियामाथि हुने कुनै पनि हमला अब नसहने” चेतावनी पनि दिएको थियो।

शनिबार अबेर जारी गरिएको वक्तव्यमा पनि संस्थामाथि भइरहेका आलोचनाहरूप्रति उस्तै कडा बचाउ गरिएको छ।

वक्तव्यमा भनिएको छ, “परिवर्तनले स्वाभाविक रूपमा स्थापित स्वार्थहरूलाई चुनौती दिन्छ, तर त्यो परिवर्तनप्रतिको असहमतिले फिफा अध्यक्ष वा उहाँले नेतृत्व गर्न निर्वाचित संस्थाको लोकतान्त्रिक जनादेशलाई कमजोर पार्ने प्रयासलाई जायज ठहराउन सक्दैन।”

फिफाले थपेको छ, “फिफा वैध छानबिनको स्वागत गर्दछ। तर छानबिनको नाममा तथ्यहरू बङ्ग्याउने, निराधार आरोपहरूलाई बढावा दिने वा प्रगतिलाई रोक्न ध्यान मोड्ने छुट कसैलाई छैन। जहाँ समाचार असत्य वा भ्रामक हुन्छ, फिफाले त्यसको प्रत्यक्ष र सशक्त रूपमा प्रतिवाद गर्नेछ।”

छुटाउनुभयो कि ?