मौसम पूर्वानुमान: कोशी, बागमती र गण्डकीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान: कोशी, बागमती र गण्डकीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

यसकै प्रभावका कारण हाल देशभर साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशको हिमाली भूभागका केही स्थानहरूमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। देशका पहाडी भूभागका धेरै स्थानहरूमा मध्यमसम्मको वर्षाको सम्भावना छ भने लुम्बिनी, सुदूरपश्चिम, मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षा हुन सक्नेछ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली प्रदेशको पहाडी भूभाग र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यसैगरी, आज राति पनि देशभर साधारणतया बदली नै रहनेछ। हिमाली भूभागका केही स्थानहरूमा वर्षा तथा हिमपातको सम्भावना कायम रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानहरूमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। साथै, मधेस प्रदेश, कर्णाली प्रदेशको पहाडी भूभाग तथा बागमती प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा मध्यमसम्मको वर्षा हुन सक्नेछ।

रातिको समयमा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका साथै बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

संभावित भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्राकृतिक विपत्तिको जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। वर्षाका कारण दैनिक जनजीवन, कृषि, पर्यटन तथा सडक र हवाई यातायात सेवा प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

छुटाउनुभयो कि ?