कपिलवस्तु। कपिलवस्तु नगरपालिकाका पूर्वमेयर ६५ वर्षीय किरण सिंह जङ्गलमा बाटो बिराएर सम्पर्कविहीन भएका छन्।
शुक्रबार बिहान घरबाट कृषि फार्ममा जान भनी निस्किएका सिंहको खोजी कार्य व्यापक रूपमा जारी रहे पनि हालसम्म फेला पर्न सकेका छैनन्। पूर्व–पश्चिम राजमार्गदेखि अन्दाजी आठ किलोमिटर भित्र गोरुसिङ्गेस्थित जङ्गलमा सिंहले प्रयोग गर्दै आएको लु.प्र.०१०१३ प ७९७० नम्बरको मोटरसाइकल बेवारिसे अवस्थामा भेटिएको छ।
शुक्रबार दिउँसो व्यावसायिक साझेदार र स्थानीय बासिन्दालाई फोन सम्पर्क गर्दै सिंहले घना जङ्गलमा बाटो बिराएको र सहयोगका लागि आग्रह गरेका थिए। तिलौराकोट साझेदारी समूहका सदस्य बलराम तिवारीसँग बेलुकी ५ बजेतिर भएको १०–११ सेकेन्डको संक्षिप्त कुराकानीमा सिंहले ‘बाबु बचाइहाल–बचाइहाल’ मात्र भनेर फोन काटेका थिए।
यसैगरी वडाध्यक्ष मुहम्मद जहिद खाँले ५ बजेर ३२ मिनेट जाँदा गरेको २२ सेकेन्डको संवादमा पनि पूर्वमेयर सिंहको सास अत्यधिक फुलेको र निकै आत्तिएको सुनिएको थियो। त्यसको केही समयपछि अर्थात् शुक्रबार बेलुकी पौने ६ बजेदेखि सिंहको मोबाइल स्विच अफ भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
पारिवारिक स्रोतका अनुसार उच्च रक्तचाप र दमका पुराना बिरामी रहेका सिंह धेरै हिँड्न सक्ने शारीरिक अवस्थामा छैनन्। जिल्ला प्रहरी प्रमुख एसपी मनोहरप्रसाद भट्टका अनुसार बेपत्ता सिंहको खोजीका लागि नेपाल प्रहरी, तालिमप्राप्त कुकुरसहितको विशेष टोली र स्थानीय बासिन्दा गरी एक सयभन्दा बढीको सङ्ख्यामा सुरक्षाकर्मी तथा नागरिकहरू जङ्गलमा परिचालन गरिएका छन्।
सिंहको घरबाट लगिएका पुराना कपडा सुँघाएर तालिमप्राप्त कुकुरको सहायताले जङ्गल क्षेत्रमा खोजी कार्यलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ।