तीन सातादेखि तातोपानी नाका ठप्प, सुक्खा पहिरोले भन्सार यार्डमा क्षति

तीन सातादेखि तातोपानी नाका ठप्प, सुक्खा पहिरोले भन्सार यार्डमा क्षति

काठमाडौं। नेपाल–चीन व्यापारको प्रमुख नाका तातोपानी तीन साताभन्दा लामो समयदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको पहिरो र अरनिको राजमार्गको लिपिङ, डाक्लाङ तथा इको सेक्सनमा सडक भासिएका कारण दुई देशबीचको वैदेशिक व्यापार ठप्प बनेको हो।

सडक सञ्जाल विच्छेद हुनुका साथै पछिल्ला दिनमा भन्सार क्षेत्रमाथिबाट खसेको सुक्खा पहिरो र ठूला ढुङ्गाका कारण अवस्था थप जोखिमपूर्ण बनेको छ। पहिरोले भन्सार कार्यालय, गोदाम, सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट (बिओपी) तथा कर्मचारी आवासमा क्षति पुर्‍याएको छ। जोखिम बढेपछि भन्सारका कर्मचारीहरू सुरक्षित स्थानतर्फ सरेका छन् भने विद्युत् र खानेपानी सेवा समेत प्रभावित भएको छ।

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीका अनुसार विभिन्न ठाउँमा गएको पहिरोका कारण आयात-निर्यात पूरै ठप्प छ। “नाकामा सडक अवरुद्ध भएकाले चीनतर्फबाट मालवाहक सामानसहितका कन्टेनर भित्रिन सकेका छैनन्,” उनले भने, “सडक कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने अहिलेसम्म निश्चित छैन।”

सडक ठप्प हुँदा फलफूल, लत्ताकपडा, औजार तथा विद्युतीय सवारीसाधन बोकेका सयौँ कन्टेनरहरू सीमावर्ती दुवैतातर्फ रोकिएका छन्। बाटो नखुल्दा व्यापारीहरू मारमा परेका छन् भने सडक विभाग र प्राविधिक टोलीले निरन्तरको वर्षा र पहिरोका कारण मर्मत कार्य सहज हुन नसकेको जनाएका छन्।

छुटाउनुभयो कि ?