अविरल वर्षा र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध, बीपी राजमार्ग र कान्ति लोकपथमा रात्रिकालीन आवतजावत बन्द

अविरल वर्षा र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध, बीपी राजमार्ग र कान्ति लोकपथमा रात्रिकालीन आवतजावत बन्द

काठमाडौं। लगातारको वर्षा, पहिरो, सडक भासिनुका साथै खोलाले कटान गरेपछि देशका विभिन्न भागमा प्रमुख राजमार्ग तथा सहायक सडकहरू अवरुद्ध भएका छन्।

प्रहरी प्रधान कार्यालयले शनिबार बिहान सार्वजनिक गरेको विवरण अनुसार तेह्रथुमको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी, मुगुको नाग्म-गमगढी, रुकुम पश्चिमको भेरी करिडोर र सोलुखुम्बुको सल्लेरी–लुक्ला सडकखण्डमा यातायात सेवा नराम्ररी प्रभावित भएको छ।

मेची राजमार्गअन्तर्गत इलामको राजदुवालीमा सडक हिलाम्मे भएपछि यातायात ठप्प भए पनि हाल वैकल्पिक मार्ग सञ्चालनमा छ। यस्तै सिन्धुपाल्चोकको जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो र सडक भासिएपछि अरनिको राजमार्ग अबरुद्ध भएको छ।

दोलखाको किर्नेटारमा सामाकोशी खोलाले सडक कटान गरेपछि वैकल्पिक बाटो प्रयोगमा ल्याइएको छ भने तेह्रथुमको पिङवाखोला नजिक मध्यपहाडी लोकमार्ग र सोलुखुम्बुको सल्लेरी-लुक्ला सडक पहिरोका कारण ठप्प बनेका छन्।

यसैगरी बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६:०० देखि बिहान ४:०० बजेसम्म र कान्ति लोकपथमा बेलुका ५:०० देखि बिहान ५:०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

प्रहरीले वर्षायाममा बाढी, पहिरो र सडक कटानको जोखिम कायमै रहेकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

छुटाउनुभयो कि ?