काठमाडौं। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष चेकिङका क्रममा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार ४०६ जना सवारीचालकलाई कारबाही गरेको छ। शनिबार बिहानसम्म गरिएको जाँचका क्रममा सडक नियम उल्लङ्घन गर्ने चालकहरूमाथि यो कारबाही गरिएको हो।
कारबाहीमा पर्नेहरूमध्ये सबैभन्दा धेरै ८०० जना अन्य विविध कसुरमा परेका छन्। त्यसैगरी तीव्र गतिमा सवारी चलाउने १८० जना, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ८५ जना र लेन अनुशासन उल्लङ्घन गर्ने ८० जना चालक कारबाहीमा परेका छन्।
यस्तै सिसीटिभी मार्फत ७५ जना, रातो बत्ती मिच्ने ६१ जना, सवारी साधनको अवस्था ठिक नभएका ५९ जना, नो हर्न क्षेत्रमा हर्न बजाउने ४२ जना र एकतर्फी (वन-वे) सडकमा नियम मिच्ने २४ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ। सडक दुर्घटना न्यूनीकरण र उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन नियमित जाँचलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ।