सिरहा घटनाका पीडित परिवारलाई राहत: प्रदेश सरकारले बनाइदिने भयो पक्की घर

सिरहा घटनाका पीडित परिवारलाई राहत: प्रदेश सरकारले बनाइदिने भयो पक्की घर

जनकपुरधाम। सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेस प्रदेश सरकारले पक्की घर निर्माण गरिदिने भएको छ।

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह र मृतकका परिवारबीच शुक्रबार साँझ भएको सहमति अनुसार यादवको परिवारका लागि दुई कोठे घर, भान्सा (किचन) र शौचालय निर्माण गरिदिने निर्णय भएको हो।

प्रदेश सरकारद्वारा सञ्चालित ‘विपन्नसँग मदन भण्डारी आवास योजना’ अन्तर्गत मृतक यादवको परिवारलाई घर बनाइदिने सहमतिपत्रमा उल्लेख छ।

सुनसरीको देवानगञ्ज घटनाको विषयलाई लिएर सिरहाको गोलबजारमा गत साउन १४ गते भएको प्रदर्शनका क्रममा गोली लागेर यादवको मृत्यु भएको थियो।

मृतक परिवारको आर्थिक अवस्था कमजोर रहेकाले प्रदेश सरकारका तर्फबाट घर निर्माण गरिदिने सहमति भएको मन्त्री सिंहले बताएका छन्।

छुटाउनुभयो कि ?