प्रतिनिधिसभा बैठक: सीमा विवाद, महँगी र जनजीविकाका मुद्दामा विपक्षी सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभा बैठक: सीमा विवाद, महँगी र जनजीविकाका मुद्दामा विपक्षी सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि संसद्‌मा उठाउँदै आएका राष्ट्रिय तथा समसामयिक विषयहरूमा स्पष्ट पार्न सरकार र सभामुखको गम्भीर ध्यानाकर्षण गराएका छन्।

बैठकमा विशेष समय लिएर बोल्दै उनीहरूले बढ्दो महँगी नियन्त्रण गर्न र खाना पकाउने ग्यासको अभाव तत्काल हटाउन सरकारसँग माग गरे। साथै, संसद्‌मा लगातार उठाइएका जनसरोकारका विषयहरूलाई सम्बोधन गर्नुपर्नेमा उनीहरूले जोड दिए।

बैठकमा नेकपा (एमाले) का सांसद कृपाराम रानाले नेपालको नक्सामा समेटिएका लिपुलेक, कालापानी र लिम्पियाधुराका विषयमा पछिल्ला दिनहरूमा अनेकौँ टीकाटिप्पणी भइरहेको भन्दै त्यसबारे सत्यतथ्य स्पष्ट पार्न सरकारसँग आग्रह गरे।

त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले संसद्‌लाई मर्यादित र नियमावली अनुसार सञ्चालन गर्ने सभामुखको प्रयासको प्रशंसा गरे। तर, सीमा अतिक्रमणका विषयमा प्रधानमन्त्रीद्वारा यसअघि संसद्‌मै व्यक्त गरिएको विवादास्पद अभिव्यक्ति संसद्को अभिलेख (रेकर्ड) बाट हटाउनुपर्ने आफ्नो पुरानै माग उनले दोहोर्‍याए।

श्रम संस्कृति पार्टीका सांसद ध्रुर्वराज राईले विपक्षी दलहरूले उठाएका गम्भीर सवालहरूमा सरकारले कुनै जवाफ नदिएको र सभामुखले पनि निकासको विन्दु खोज्न पहल नगरेको भन्दै असन्तुष्टि प्रकट गरे।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले हालै सुनसरी र सिरहामा भएका घटनाका मृतक तथा घाइते परिवारसँग भएका सहमतिहरू तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए।

छुटाउनुभयो कि ?