काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले चीनले दक्षिण एसियामा अघि बढाएको क्षेत्रीय सहकार्य, दिगो विकास र साझा समृद्धिका प्रयासमा नेपालले ‘सेतु’ (पुल) को भूमिका निर्वाह गर्न चाहेको बताएका छन्।
ललितपुरमा आयोजित ‘‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसिया’’ विषयक अन्तर्राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री खनालले वर्तमान सरकारले आर्थिक कूटनीति र सीमापार सम्पर्क सञ्जाल (कनेक्टिभिटी) विस्तारलाई मुख्य प्राथमिकतामा राखेको स्पष्ट पारे।
नेपालले चीन र दक्षिण एसियाली मुलुकहरूबिच आर्थिक तथा क्षेत्रीय सहकार्य प्रवर्द्धन गर्न आफ्नो रणनीतिक भौगोलिक अवस्थितिलाई अवसरका रूपमा उपयोग गर्नुपर्नेमा उनले जोड दिए। क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउँदै दिगो विकास र साझा समृद्धिका लक्ष्य हासिल गर्न सबै सम्बद्ध पक्षबिच एकीकृत सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
चीन र भारतको तीव्र आर्थिक उन्नतिले नेपालसहित छिमेकी मुलुकहरूका लागि व्यापार विस्तार, लगानी आकर्षण, पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन र बहुपक्षीय आर्थिक सहकार्यका नयाँ ढोकाहरू खोलेको मन्त्री खनालले उल्लेख गरे। उनले व्यापार, लगानी र जनस्तरको सम्बन्ध (पुपुल-टु-पुपुल रिलेसन) विस्तारमा नेपालले दुई क्षेत्रबिच भरपर्दो मध्यस्थकर्ता वा पुलको काम गर्न सक्ने विश्वास व्यक्त गरे।