कांग्रेसको आधिकारिकता विवाद अदालतमा प्रवेश गरे पनि रूपान्तरण अभियान रोकिँदैन: गुरुराज घिमिरे

कांग्रेसको आधिकारिकता विवाद अदालतमा प्रवेश गरे पनि रूपान्तरण अभियान रोकिँदैन: गुरुराज घिमिरे

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको आधिकारिकतासम्बन्धी विषय सर्वोच्च अदालतमा पुनरावलोकनको चरणमा प्रवेश गरे पनि संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्र र रूपान्तरणको अभियान नरोकिने बताएका छन्।

एक वक्तव्य जारी गर्दै महामन्त्री घिमिरेले विधिको शासन र स्वतन्त्र न्यायपालिकाप्रतिको विश्वास व्यवहारमै देखिनुपर्छ भन्ने मान्यताका साथ अदालतको प्रत्येक कानुनी प्रक्रियालाई पार्टीले सम्मान गर्ने बताए।

तर, कांग्रेसको वर्तमान दिशा अधिकांश महाधिवेशन प्रतिनिधिहरूको विश्वास, विशेष महाधिवेशनको वैधानिक जनादेश र रूपान्तरणको साझा संकल्पबाट निर्धारित भएकाले यो अभियानले अझ गति पक्रने उनको दाबी छ।

"लोकतन्त्रको सार असहमतिलाई स्वीकार गर्नु हो, तर असहमतिलाई अन्तहीन विवादमा रूपान्तरण गर्नु होइन," वक्तव्यमा भनिएको छ, "संस्थाका निर्णय आफूअनुकूल हुँदा मात्र स्वीकार्ने र प्रतिकूल हुँदा अस्वीकार गर्ने प्रवृत्तिले संस्थालाई होइन, व्यक्तिकेन्द्रित राजनीतिलाई बल पुर्‍याउँछ।"

आजको आवश्यकता विभाजनको बहस नभई एकताको संकल्प, अविश्वासको राजनीति नभई रूपान्तरणको नेतृत्व रहेको उल्लेख गर्दै महामन्त्री घिमिरेले सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई व्यक्तिगत आग्रहभन्दा माथि उठेर पार्टीको संगठन, सिद्धान्त र साझा भविष्यको पक्षमा दृढतापूर्वक उभिन हार्दिक आह्वान गरेका छन्।

छुटाउनुभयो कि ?