काठमाडौं। जय नेपाल पार्टीका अध्यक्ष डा. धवलशमशेर जबराले सनातन धर्मसापेक्ष हिन्दु अधिराज्य र अभिभावकीय भूमिकासहितको संवैधानिक राजसंस्था पुनस्र्थापना गर्नु आफ्नो पार्टीको मुख्य एजेन्डा भएको बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष जबराले नेपाल विविध जाति, भाषा र धर्मावलम्बीहरूको साझा मुलुक भएकाले सबैलाई गोलबद्ध गर्न अभिभावकका रूपमा राजसंस्था आवश्यक रहेको दाबी गरे।उनका अनुसार नेपालमा राजसंस्था हटेपछि राजनीतिक अस्थिरता र अव्यवस्था बढेको छ।
विश्वका धेरै देशको आफ्नै धार्मिक पहिचान रहेको उल्लेख गर्दै उनले नेपाललाई पुनः हिन्दु राष्ट्रका रूपमा स्थापित गर्नुपर्ने तर्क प्रस्तुत गरे।जय नेपाल पार्टीले शान्तिपूर्ण लोकतान्त्रिक प्रक्रियाबाट-सडक आन्दोलन र संसदीय अभ्यास दुवै माध्यम प्रयोग गरी-यी एजेन्डा अघि बढाउने उनले जानकारी दिए। यसका साथै देशको समृद्धिलाई पनि पार्टीले प्रमुख प्राथमिकतामा राखेको उनको भनाइ थियो।
प्राकृतिक स्रोत–साधनको प्रभावकारी उपयोग गर्न सके नेपाल समृद्ध बन्न सक्ने सम्भावना रहेको भन्दै उनले वर्तमान राजनीतिक नेतृत्वको गलत सोचका कारण देश आर्थिक रूपमा पछाडि परेको आरोपसमेत लगाए।