सर्वोच्चको नयाँ आदेश: नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादको सुनुवाइ सुरुदेखि हुने

सर्वोच्चको नयाँ आदेश: नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादको सुनुवाइ सुरुदेखि हुने

काठमाडौं। नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा नयाँ मोड आएको छ। सर्वोच्च अदालतले बिहीबार उक्त विवादसम्बन्धी मुद्दामा सुरुदेखि नै पुन: सुनुवाइ गर्ने आदेश दिएको हो।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले पुनरावलोकनको अनुमति (निस्सा) दिने आदेश जारी गरेको हो। सर्वोच्चको यो आदेशसँगै अघिल्लो निर्णयमाथि पुनरावलोकनको बाटो खुलेको छ।

यसअघि २०८२ पुस अन्तिम साता सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएका थिए। सोही कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्चले सदर गरेको थियो।

उक्त फैसलाप्रति असन्तुष्टि जनाउँदै तत्कालीन सभापति शेरबहादुर देउवाले पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दिएका थिए। सोही निवेदनमाथि सुनुवाइ गर्दै पूर्ण इजलासले पहिलेको फैसला सच्याउने वा निरन्तरता दिनेबारे सुरुदेखि नै बहस पुनर्विचार गर्ने निर्णय गरेको हो।

हाल तत्कालीन सभापति देउवा हङकङमा छन्। उनी आगामी साउन २९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। यता संस्थापन इतर पक्षले छुट्टै राष्ट्रिय भेलाको तयारी गरिरहेका बेला सर्वोच्चको यो आदेश आएको हो।

छुटाउनुभयो कि ?