काठमाडौं। सरकारले राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अर्थ मन्त्रालयबाट प्राप्त नयाँ तलबमानको प्रस्तावलाई स्वीकृत गरेको हो।
अर्थ मन्त्रालयले गत साउन ६ गते नयाँ तलबमान स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको थियो। सो प्रस्तावलाई १५ दिनपछि क्याबिनेटले पारित गर्दै स्वीकृति दिएको हो।
मुख्यसचिव र कार्यालय सहयोगीको तलब कति?
स्वीकृत नयाँ तलबमान अनुसार अब निजामती सेवाका सर्वोच्च पद मुख्यसचिवले मासिक ९० हजार ५ सय ९४ रुपैयाँ तलब पाउनेछन्। त्यसैगरी, सबैभन्दा तल्लो तहका प्रथम स्तरका कार्यालय सहयोगीले मासिक २८ हजार ९ सय ८४ रुपैयाँ प्राप्त गर्नेछन्।
बजेट घोषणा अनुसार तलब र भत्ता वृद्धि
यसअघि अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट वक्तव्यमार्फत नयाँ आर्थिक वर्षको साउन महिनादेखि लागू हुने गरी राष्ट्रसेवक कर्मचारीको तलबमा १० प्रतिशत र प्रोत्साहन भत्ता बापत थप १० प्रतिशत वृद्धि गर्ने घोषणा गर्नुभएको थियो। सोही घोषणा बमोजिम नयाँ तलबमान कार्यान्वयनमा ल्याइएको हो।