काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाभित्र सञ्चालित होटेल तथा रेस्टुरेन्टहरूलाई धुम्रपानका लागि छुट्टै स्थान (Smoking Zone) को व्यवस्था गर्न निर्देशन दिएको छ।
बुधबार एक सूचना जारी गर्दै प्रशासनले काठमाडौँ जिल्लाभित्र सञ्चालित होटेल तथा रेस्टुरेन्टहरूलाई धुम्रपानसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ पालना गराउन यस्तो निर्देशन दिएको हो।
सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ अनुसार धुम्रपान गर्न मिल्ने र नमिल्ने स्थान स्पष्ट रूपमा छुट्याउन प्रशासनले भनेको छ। जसअनुसार धुम्रपानका लागि छुट्याइएको स्थान चारैतिरबाट बन्द हुने र त्यसको धुवाँ अन्य सर्वसाधारणसम्म नपुग्ने गरी अनिवार्य व्यवस्थापन गर्न सबै होटेल तथा रेस्टुरेन्ट सञ्चालकहरूलाई सचेत गराइएको छ।
जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकायहरूसँग समन्वय गरी यसको नियमित अनुगमन गर्नेसमेत जनाएको छ। अनुगमनका क्रममा कानुनविपरीत धुम्रपानको व्यवस्था गरिएको वा ऐनको पालना नगरेको पाइएमा सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को दफा १७ बमोजिम कडा कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ।