काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ उमेर हदका कारण आजदेखि अनिवार्य अवकाशमा गएका छन्।
गुरागाईँले २०८१ भदौ २७ गतेको नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयअनुसार २०८१ असोज ७ गते काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पदबहाली गरेका थिए। काठमाडौँ महानगरको इतिहासमा प्रमुख प्रशासकीय अधिकृत पदमै बहाल रहेको अवस्थामा सेवा निवृत्त हुने उनी पहिलो अधिकारी बनेका छन्।
महानगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरी उनलाई बिदाइ गरेको छ। बिदाइ कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रवक्ता नवीन मानन्धर, कार्यपालिका सदस्यहरू, विभागीय प्रमुखहरू तथा महाशाखा प्रमुखहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख सुनिता डङ्गोलले कर्मचारी, जनप्रतिनिधि र साझेदार निकायहरूसँगको सहकार्य, समन्वय र सहअस्तित्वका लागि गुरागाईँले गरेको प्रशासनिक नेतृत्व काठमाडौँ महानगरपालिकाले सधैँ स्मरण गरिरहने बताइन्।
"पद अस्थायी हो, सेवा स्थायी हो," कार्यवाहक प्रमुख डङ्गोलले भनिन्, "पदीय दायित्व सकिए पनि सेवा सकिँदैन। सेवा निवृत्त जीवनमा यहाँको सेवा यात्रा अझ परिष्कृत हुने अपेक्षा गरेका छौँ।"
सो क्रममा सुशासन समितिका संयोजक ख्यामराज तिवारीले महानगरपालिकाको संस्थागत विकासका लागि गुरागाईँको ज्ञान, सिप र अनुभव आगामी दिनमा पनि उपयोगी हुने विश्वास व्यक्त गरे।
बिदाइ सम्बोधनका क्रममा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले आफ्नो साढे ३२ वर्षे निजामती सेवा अवधिमा काठमाडौँ महानगरमा गरेको सेवा सबैभन्दा स्मरणीय रहेको बताए। "प्रशासनिक सेवामा आउने उतारचढाव कर्मचारीका लागि स्वाभाविक हुन्, मैले तिनलाई सहज रूपमा लिएको छु," उनले भने।
२०५१ साल पुस १९ गते शाखा अधिकृत पदबाट सङ्घीय निजामती सेवामा प्रवेश गरेका गुरागाईँको सेवाकालको अधिकांश समय स्थानीय तहमा नै बितेको थियो। उनले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा करिब २ वर्ष र विभिन्न स्थानीय तहमा गरी करिब २१ वर्ष सेवा गरेका छन्।