ओलीसँगको भेटमा मुख्यमन्त्री कार्कीको अडान: 'राजीनामा दिन्नँ, सचिवालयले निर्णय गरे सोचौँला'

ओलीसँगको भेटमा मुख्यमन्त्री कार्कीको अडान: 'राजीनामा दिन्नँ, सचिवालयले निर्णय गरे सोचौँला'

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँगको निर्णायक छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आफ्नो राजीनामा नदिने अडान दोहोर्‍याएका छन्। भक्तपुरको गुन्डुस्थित ओली निवासमा भएको भेटमा मुख्यमन्त्री कार्कीले आफ्नो कुरा स्पष्ट रूपमा राखेर त्यहाँबाट बाहिरिएका हुन्।

अध्यक्ष ओली र उनीनिकट नेताहरूले पद छाड्न चर्को दबाब दिइरहेका बेला मुख्यमन्त्री कार्की भने टसमस भएका छैनन्। ओलीले कार्कीलाई अन्य नेताहरूलाई पनि अवसर दिनुपर्ने भन्दै मार्गप्रशस्त गर्न आग्रह गरेका थिए। "अरूलाई पनि अवसर दिनुपर्छ। तपाईंलाई मैले पटक-पटक अवसर दिएकै हो। अब अरू कसैलाई सात-आठ महिना जति मुख्यमन्त्री बनाऊँ, तपाईंले बाटो खोलिदिनुहोस्," ओलीको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ।

जवाफमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको सरकार संविधानको धारा १६८ को उपधारा (५) बमोजिम बनेकाले तत्काल अरू विकल्पमा जान सक्ने अवस्था नरहेको स्पष्ट पारेका थिए। भेटपछि कार्कीले भने, "मैले आफ्नो कुरा राखेर निस्किएँ। पार्टी सचिवालय बैठकबाटै आधिकारिक निर्णय भएमा विचार गर्नेछु।"

कोशीको सत्ता समीकरणबारे छलफल गर्न बोलाइएको उक्त बैठकमा एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राई, अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारीसमेत सहभागी थिए। कार्की आफ्नो अडान राखेर निस्किएपछि पनि अध्यक्ष ओलीले शेरधन राई लगायतका नेताहरूसँग अबको रणनीतिबारे गुन्डुमै छलफल जारी राखेका छन्।

छुटाउनुभयो कि ?