बाजुरामा विषालु जङ्गली च्याउ खाँदा श्रीमान्‌को मृत्यु, श्रीमती गम्भीर

बाजुरामा विषालु जङ्गली च्याउ खाँदा श्रीमान्‌को मृत्यु, श्रीमती गम्भीर

बाजुरा। बाजुरामा विषालु जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर बिरामी परेकी छन्।

बडीमालिका नगरपालिका वडा नम्बर ७, ढम्कनेका ५१ वर्षीय रामबहादुर थापाको जङ्गली च्याउ खाएर उपचारका क्रममा मृत्यु भएको हो। सोमबार दिउँसो जङ्गलबाट ल्याएको च्याउ खाएपछि दम्पती नै बिरामी परेका थिए।

थापालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा पुर्‍याइएकोमा उपचारकै क्रममा राति ११:४० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेश बहादुर शाहीले जानकारी दिए।

विषालु च्याउ खाएर गम्भीर बिरामी परेकी मृतककी ५० वर्षीया श्रीमती नाम्सरी थापाको सोही अस्पतालमा उपचार भइरहेको छ। घटनाको खबर पाएलगत्तै प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?