काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अर्थात् नेपालको तराई भूभाग नजिक अवस्थित छ।
यसकै प्रभावका कारण देशभर साधारणतया बदली हुनुका साथै बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। मधेश प्रदेशका पनि एक-दुई स्थानमा वर्षाको गतिविधि भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। त्यस्तै, देशका पहाडी भूभागका धेरै स्थानहरूका साथै तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।
आज राति पनि देशभर साधारणतया बादल लागिरहनेछ। हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ। रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका साथै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुनुका साथै कोशी, बागमती, गण्डकी र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
भारी वर्षा र चट्याङको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।