रामेछाप। सिन्धुलीको फिक्कल गाउँपालिका–२, नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा सोमबार बिहान सुनकोशी नदीमा खसेको कारमा सवार यात्रुहरूको पहिचान खुलेको छ।
सिन्धुली प्रहरीका अनुसार बिहान करिब ११:४५ बजे काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा.प्र.०८-००१ ख ०१४४ नम्बरको यात्रुवाहक बसले विपरीत दिशा (खोटाङबाट खुर्कोटतर्फ) आइरहेको सडक विभाग यान्त्रिक कार्यालय मुलकोटअन्तर्गत प्रयोग हुने कारलाई ठक्कर दिएको थियो। ठक्करपछि कार करिब ५० फिट तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ।
नदीमा कारसँगै बेपत्ता हुनेहरूमा कार चालक सिन्धुपाल्चोक निवासी ३९ वर्षीय दिलकुमार लामा र स्काइभेटर चालक सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ निवासी २८ वर्षीय गणेश थापा रहेका छन्। कारमा सवार अन्य दुई जनाको भने नाम, थर र वतन खुल्न बाँकी रहेको छ।
यसअघि कार चालक दिलकुमार लामा मध्यपहाडी लोकमार्ग निर्माण आयोजनाका ठेकेदार रहेको जनाइए पनि उनी सडक विभाग यान्त्रिक कार्यालयसँग सम्बद्ध कारका चालक रहेको प्रहरीको पछिल्लो छानबिनले देखाएको छ।
दुर्घटनापछि ठक्कर दिने बस र त्यसका चालक फिक्कल गाउँपालिका–६ निवासी २६ वर्षीय हेमबहादुर तामाङलाई नियन्त्रणमा लिएर खाङसाङ प्रहरी चौकीमा राखिएको सिन्धुली प्रहरीले जनाएको छ।
हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय उद्धार टोली घटनास्थलमा खटिएका छन्। सुनकोशीको तीव्र बहावमा बेपत्ता भएको कार र सवार चारै जनाको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ।